vada
News

प्रचण्डलाई ओलीको सन्देश: कि अहिलेकै हैसियतमा चित्त बुझाऊ, नत्र निस्केर जाऊ

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै विश्वासपात्र सम्मिलित प्रतिवेदनप्रति असहमति जनाएर पार्टीभित्र फेरि रडाको सिर्जना गरेका छन् । ओलीको अहंले नयाँ उचाइ लिएपछि मत्थर भइसकेको शक्ति संघर्ष पुनः बल्झिने संकेत देखाएको छ ।

कार्यदलका संयोजक विष्णु पौडेल स्वयं ओलीका विश्वासपात्र थिए । त्यसमा शंकर पोखरेल पनि ओलीकै दाहिने हात भएपछि प्रतिवेदन ओलीको आशयभन्दा बाहिर जान नसक्ने आकलन गरिएको थियो ।

धेरै हदसम्म प्रतिवेदन ओलीको बचावटमै आएको छ । खासगरी ओलीले तत्काल कुनै पद त्याग्नु नपर्ने, आगामी महाधिवेशनबाट अर्का अध्यक्ष पुष्पकमल दाहाललाई छाडिदिनुपर्ने र प्रधानमन्त्री पाँचै वर्ष चलाउन पाउने प्रतिवेदनको सार छ ।

आगामी चैतमा महाधिवेशन गर्ने र सहमतिमा नेतृत्व चयन गर्ने प्रतिवेदनमा उल्लेख छ । सहमतिका नाममा लोकतान्त्रिक पद्धतिलाई अस्वीकृत गर्न खोजिएको हो कि भन्ने पूर्वएमाले पक्षका कतिपय नेताहरुले आशंका गरिरहेकै थिए । ओलीले समेत असन्तुष्टि जनाएपछि अब यसलाई प्रचण्डप्रति पूर्वएमाले धारको अनुदार मनोविज्ञानका रुपमा लिन सकिन्छ ।

प्रचण्डलाई कार्यकारी अध्यक्षका रुपमा केही बढी भूमिका दिएकामा पनि ओली असन्तुष्ट देखिन्छन् । ओली स्वयंको बुझाइ भने आफू पूर्ण कार्यकारी अध्यक्ष र प्रचण्ड सहयोगी वा सहअध्यक्ष मात्रै हुन् । त्यसैले उनले बारम्बार आफू सिनियर अध्यक्ष र प्रचण्ड अर्का अध्यक्ष भन्दै होच्याउने गरेका छन् ।

ओलीको यस्तै व्यवहारबाट आजित भएर प्रचण्डले विरोधी मोर्चा खडा गरी ओलीमाथि कू गर्न खोजेका थिए । त्यो प्रयास असफल भएपछि फेस सेभिङको उपायस्वरुप कार्यदल गठनको प्रस्ताव गरेका थिए । कार्यदलमा ओली सहमत भए पनि उसको काममा सहमत हुन सकेनन् ।

पार्टीका बैठकहरुमा दुवै अध्यक्षको सहमतिमा एजेण्डा प्रस्तुत हुने र निर्णय कमिटीले गर्ने सुझाव कार्यदलले दिएको छ । यसबाट पनि ओली झस्किएका छन् । पार्टी कमिटीबाट बहुमतको बलमा आफूप्रतिकूलको निर्णय हुन सक्ने आशंका ओलीमा देखिन्छ । त्यसैले उनी आफ्नो निर्णय नै पार्टीको निर्णयका रुपमा लागू गराउन चाहन्छन् ।

आगामी चैतबाट अध्यक्ष पद त्याग्ने र त्यो पद प्रचण्डलाई सुम्पने तमसुकमा अहिले नै सही गर्न ओली तयार नरहेको स्पष्ट छ । प्रचण्डलाई कार्यकारी भूमिका नदिने उनको स्पष्ट अडान छ । त्यस्तै आफू सहमत नभएको विषय पार्टीको निर्णय हुन नसक्नेमा पनि उनी उत्तिकै दृढ छन् ।

ओलीले प्रचण्डलाई कार्यकारी भूमिका नदिनु र भविष्यमा पनि उनलाई एकल अध्यक्ष बनाउने कुरामा अहिले वचनबद्ध हुन नमान्नुको कारण स्पष्ट छ, ओलीका निम्ति अब प्रचण्डको उपयोगिता सकियो । अब ओलीले होइन, प्रचण्डले मार्गप्रशस्त गनुपर्छ भन्ने टुंगो पुगेको प्रस्ट सन्देश दिएका छन् ।

यो सन्देश बुझेर प्रचण्ड आफ्नो बाटो लाग्न सक्ने अवस्था छैन । उनका धेरै नेताहरु ओली पक्षमा उभिइसकेका छन् । माधव नेपाल, वामदेव गौतम र झलनाथ खनाल पनि प्रचण्डसँग बिच्किइसकेका छन् । कदाचित माधव नेपालले प्रचण्डलाई साथ दिए पनि उनका कार्यकर्ताले साथ दिनेमा शंकै छ । पूर्वएमालेहरु प्रचण्डको कित्तामा नजाऊन् भनेर ओलीले जबजको तुरुप बेलाबेला फ्याँकिरहेकै हुन्छन् ।

यसअघि प्रचण्ड र अरु केही नेताले राजीनामा मागेकै भरमा दिन्नँ भन्नु ओलीको जायज अडान थियो । अहिलेको आवश्यकता प्रधानमन्त्री परिवर्तन होइन । अझ ओलीलाई विस्थापित गरी उनीजस्तै अरु नेता प्रचण्ड, माधव नेपाल वा झलनाथ खनाल स्थापित हुनु त झनै होइन । त्यसमाथि प्रचण्डले राजीनामाको माग बेला न कुबेला अघि सारेका थिए । अन्ततः त्यो गलत नै सावित भयो । प्रचण्ड नै रक्षात्मक बने ।

तर, प्रचण्डका कुनै कुरै नसुन्ने, उनको हैसियत र अस्तित्व पनि स्वीकार नगर्ने, पार्टी कमिटी र कार्यदलका सुझाव एवं सिफारिस समेत नमान्ने ओलीको शैली सर्वसत्तावादी सोचको उपज हो । उनको आवश्यकताभन्दा बढी पेलाइले पार्टीलाई सग्लो राख्न सक्दैन ।

हुन त दुई अध्यक्षबीचको विवाद महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले मिलाउँछ भन्ठान्नु नै मूर्खता थियो । महासचिवले मातहत कमिटीका विवाद अध्ययन गरी प्रतिवेदन दिनु स्वाभाविक हुन्थ्यो । तर, आफूभन्दा माथिका नेताको झगडामा उनले दिएको प्रतिवेदन कति बाध्यकारी र स्वीकार्य हुन्थ्यो ? अन्ततः भयो त्यही ।

नेकपा जुन रुपमा अघि बढेको छ, त्यो सर्वथा देश र जनताको भावनामाथिको भद्दा मजाक भइरहेको छ । जनता पीडा र भयले छट्पटाइरहेका बेला नेताहरु अनेकौँ नौटंकीमा रमाइरहेका छन् । जनस्तरमा आक्रोशको राँको बढ्दै गएको छ ।

नेतृत्वको संघर्षबाट आजित नेकपाकै कार्यकर्ता पंक्तिले समेत नेतालाई भेटेमा ढुंगा हान्ने स्थिति बनिसकेको छ । त्यसैले जनताको भावनामाथि खेल्ने काम बन्द नगरे कार्यकर्ताबाटै प्रहार खेप्नुपर्ने हुन सक्छ । चेतना भया ।

Related Articles

Back to top button