vada
News

५ वर्षीय बालकको प्रश्न- अंकल भोलि पनि खाना पाइन्छ ? आजको खाना पाइए पनि भोलि पाइँदैन कि भन्‍ने चिन्ता !

चितवन । लकडाउन अघि नारायणी किनारको चौरमा कोही नदी अवलोकन गर्न आउथे। कोही टहलिन आउनेहरु हुन्थे। को’रोना महामारी नियन्त्रणका लागि जारी गरिएको लकडाउनपछि मानिसको जीवन कठिन बन्दै जाँदा नारायणी नदीको काख बेसहाराहरुको आश्रयस्थल बनेको छ । आजभोलि यहाँ बिहानैदेखि भोक मेटाउन विभिन्‍न उमेर समूहका मानिस भेला हुन्छन् ।

२१ दिनदेखि यहाँ बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र चितवन शाखाले खान समस्यामा परेकाहरुलाई खाना खुवाउने व्यवस्था मिलाएको छ । बिहान ६ बजेदेखि खाना पकाउन सुरु गरिन्छ । खाना बनाएर भाग लगाउने ठाउँको आडैमा एक ५ वर्षीय बालक कहिले खाना पाकिरहेको भाँडोतिर हेर्छन् भने कहिले पकाइरहेका मानिसहरुतर्फ हेर्छन् ।

खाना पाकिसकेपछि माइकको आवाज आउँछ- ‘‘सबै अनुशासन भएर हात धोएर खानाका लागि तयार हुनुहोला।’’ डोरीले टाँगेर खाना खाने स्थाननजिकै बच्चाहरुका लागि ठाउँ छुट्याइएको छ । माइकको आवाज खस्‍न नपाउँदै ती बालक पलेंटी मारेर बसिहाले । ५ वर्षीय ती बालक रोशन डल्लाकोटी र उनका ११ वर्षीय दाइ रुपेश डल्लाकोटी लाइनमा बसेर सँगै खानाको प्रतीक्षामा छन् । सबैलाई खाना भाग लगाइसकेपछि बाँड्न सुरु गरियो ।

बाँड्न सुरु गरिएपछि संस्थाका सदस्य रवि ढकालले पहिलो प्लेट रोशनलाई नै दिए । रोशनले प्लेट समात्दै ढकाललाई सोधे, ‘‘अंकल भोलि पनि खाना पाइन्छ?’’ उनले तत्कालै जवाफ फर्काए, ‘‘पाइन्छ बाबु, पाइन्छ ।’’ सायद उनी भोलिका लागि पनि ढुक्क भएर होला, आजको खाना सुरु गरे । लामो समयदेखिको लकडाउनले मध्यमवर्गीय परिवारलाई त दैनिक दुईछाक खानाको समस्या भइरहेका बेला ती बालकलाई आजको खाना पाइए पनि भोलि पाइँदैन कि भन्‍ने चिन्ताले पिरोलेको देखिन्छ।

Related Articles

Back to top button