अत्यन्तै दुःखद खबर; एक महिने शिशुमा कोरोना संक्रमण पुष्टि,
हेटौडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालाबाट मंगलबार बिहान प्राप्त पीसीआर नतिजा अनुसार हेटौंडा–४, का एक महिने शिशु (बालक)मा कोरोना पुष्टि भएको हो ।
हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंका अनुसार शिशुकी ३६ वर्षीय आमालाई कोरोना पोजिटिभ देखिएपछि परिवारकोसमेत स्वाब संकलन गरी पीसीआर गरिएको थियो । परिवारको अन्य सदस्यलाई भने कोरोना नदेखिएको चौलागाईंले बताए ।
सुत्केरीको समयमा अस्पतालमा बस्दा कोरोना संक्रमण भएको हुन सक्ने अनुमान गरेको उनले बताए । उनी हेटौंडा अस्पतालमा सुत्केरी भएको र केही समय बिताएकी थिइन् ।
शिशु र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरु घरमै आइसोलेटेड भएर बसेका छन् । स्वास्थ्यकर्मीको टोलीले उनीहरुको निगरानी गरिरहेको छ ।
मकवानपुरमा एक वर्षभन्दा मुनीको शिशुमा कोरोना पुष्टि भएको पहिलो पटक हो ।