vada
News

वैदेशिक रोजगारले सिर्जना गरेको पीडा : १४ वर्षदेखि श्रीमान् सम्पर्कविहिन

१८ वर्ष भएछ, उजेली तामाङले एक्लै संघर्ष गरेको । उनी दुई छोरासँग पोर्तुगलमा छिन् । जेठो विधान २३ र कान्छा छोरा प्रवेश २० वर्षका भए ।

उनका श्रीमान् भने सँगै छैनन् । नेपालमा पनि छैनन् । ४४ वर्षीय खेमबहादुर तामाङ सम्पर्कविहिन भएको १४ वर्ष कटिसक्यो । जिन्दगीको हरेकपल हात समातेर सँगसँगै जिउने कसम खाएको मान्छेको स्पर्श नपाएकै २० वर्ष बितिसक्यो । ‘सधैं उनलाई सपनामा देख्छ’, कहिले जिस्कन्छन्, कहिले सताउँछन् । सायद भेट्छु होला भन्ने लाग्छ ।’ आँखाभरि टलपल आँशु पुछ्दै उजेलीले भनिन्, ‘समयले कहाँ कहाँ पुर्‍यायो ?’

बिहे गरेपछि चार वर्ष मात्रै सँगै बसेका थिए । उजेलीले खेमलाई धेरै मिस गर्छिन् । मान्छेहरु विभिन्न आचरणका हुन्छन् । एक्लै भएपछि कति ठाउँमा हेप्छन् । बिरामी पर्दा वा समस्यामा पर्दा मेरो बूढो भए सहयोग गर्थ्यो होला भनेर सम्झन्छिन् । अरुको जोडी देख्दा तड्पिदै आफ्नो श्रीमानसँग भएको कल्पनामा डुब्छिन् । मेरो बूढोसँगै भए म कत्ति खुशी हुन्थे होला भनेर एक्लै आँशु पुछ्छिन् । कत्ति अभागी रहेछु भन्छिन् आफैंलाई । कर्ममै यत्ति नै पो लेखेको हो कि भन्ने पनि सोच्छिन् । विगत सम्झदै उजेलीको दुवै आँखाबाट आँशु बग्यो ।

श्रीमानसँग कुराकानी नभएको कथा चाहिं एउटा सिङ्गै फ्लिमको कथाभन्दा जटिल रहेछ । नेपाल छँदा खेमले नृत्य प्रशिक्षण केन्द्रमा काम गर्थे । छोराहरुलाई असाध्यै माया गर्थे । जीवनस्तर राम्रो बन्ला छोराहरुलाई राम्रो स्कूल कलेज पढाएर ठूला मान्छे बनाउँला भन्ने सपना कस्को पो हुँँदैन र ?

आमा र श्रीमतीको चाहनाबमोजिम खेमले विदेश गएर धन कमाउने, खुशी ल्याउने र जीवनस्तर राम्रो बनाउदै सुखसयलमा जीउने सपना देखे । परिवारको सरसल्लाह अनुसार उनी २००१ मा मलेशिया गए । उजेलीका अनुसार उनले एसएलसीसम्म पढेका थिए । ट्यालेन्ट थिए । परिवारसँग राम्रै कुराकानी हुन्थ्यो । फोन गर्दा पनि दुईटै छोरालाई लिएर जान भन्थे । सानो छोरो सानै थियो, फोन देख्दा रुन्थ्यो । सुन्छ मात्रै कुरा गर्दै गर्दैन भन्दा पनि खेमले मेरो छोरा रोएको मात्र भए नि सुन्छु नि भन्थे ।

‘म २००३ मा इजरायल आएँ २००६ सम्म उनको कमाइ थिएन । मैले उनलाई घर फर्कन भने । ७०० डलर पैसा पठाइदिएँ । त्यो पैसा पाएपछि सम्पर्कविहिन भए । उनले मलेशिया पनि छोडेछन् । मलेसिया बस्ने उनकै एकजना साथीबाट पो थाहा भयो ।’ उजेलीले श्रीमानसँगको सम्बन्धबारे नरोक्किकन नमस्ते नेपालीलाई बताइन्, ‘उनको एउटी इन्डोनेशियन प्रेमिका रहेछ । केटी मलेसियामा गैरकानूनी हुन थालेछ । फर्कन पर्ने भएछ । मेरो बूढो पनि त्यही केटीसँग इन्डिनेशिया जान चाहेछन् । उनको भिसा लागेनछ । केटीले उनलाई मलेशियादेखि गैरकानूनी तवरले पानीजहाजबाट लैजाने योजना बनाएछ । मेरो बूढोले नेपाली राहदानी च्याटेर सँगै गएछन् । धर्म बदलेर मुस्लिम पनि भए अ रे ! तीन दिनमा त्यहाँ पुगेपछि फेरि उनको साथीलाई राम्रै आइपुगे भनेर फोन गरेका थिए अ रे !’

उजेलीले पनि खेमकोे साथीलाई फोन नम्बर मागिन् । फोन गरिन् । खेमले फोन उठाए । उजेलीले किन इन्डोनेशिया गएको भनेर सोधिन् । काम पाउछ, पैसा कमाउन आएको भने । केटीबारे सोध्दा हुँदै होइन छँदै छैन भन्दै थिए । उजेलीले बेस्सरी केरकार गरिन् फोनमा । ढाँटेको कुरा कसरी टिक्थ्यो र ? खेमले स्वीकारे । उजेलीले धेरै गाली गरिन् । तिम्रा बाबाआमा भेट्ने भए आऊ, हामीलाई मुख देखाउनु पर्दैन भनिन् उजेलीले । अबदेखि मेरो र छोराहरुका लागि नफर्कनु भन्दै रिसको झोकमा आफैं फोन काटिदिइन् ।

अर्कैले खोसीसकेको मान्छेलाई पनि माया लाग्दोरहेछ । १०-१२ दिनमा फेरि फोन गर्न मन लाग्यो । त्यो नम्बरमा सयौं चोटी फोन हानिन् लागेन । उनको मलेशियामा हुने साथीलाई पनि त्यसपछि सम्पर्क गरेनछन् । उजेलीले अहिलेको अवस्थासम्मको कथा सुनाइन् । छोराहरु पोर्तुगल आएको पनि पाँच वर्ष भइसक्यो । छोराहरु पोर्तुगल आएपछि सीपमूलक कोर्स गरे । उजेलीले सधैं काम गरेको देखेपछि छोराहरुले पढ्दैनौ हामी पनि काम गर्छौ भने । काम गरेर तलब बुझेपछि आमालाई दिन्छन् । ममीले चिन्ता गर्छ भनेर होला छोराहरुले बाबाबारे कुरै गर्दैनन् । बाबाको कुरा निकाल्दा पनि चुप लागेर सुन्ने मात्र गर्छन् । बरु मामाघर र बज्यैको कुरा गर्छन् ।

हामी सुखी र खुशी हुँ ने ठूल्ठूला सपना देख्छौ, विदेशी भूमिलाई अन्तिम गन्तव्य बनाउछौं । तर सुख खोज्दै विदेशिएका उजेलीको परिवारले सोचेजस्तो र खोजेजस्तो सुखी जीवन कसरी भयो ? वैदेशिक यात्राले खुशी मात्र दिएको छैन यस्ता हजारौ परिवार पीडामा जलिरहेका छन् । लाखौं नेपालीहरुको मन आफन्तसँगको बिछोडले भतभती पोलिएको छ ।

‘उहाँसँग नजिकै बस्नु हुनहुन्थ्यो रे मलेशियामा, चितवनका जसवीर तामाङ, अचेल गाउँमै हुनुहुन्छ । उहाँबाट मेरो श्रीमानबारे सत्यतथ्य बुझ्ने गरेकी थिएँ । ७४ वर्षीया सासु चितवन पार्वतीपुरमा बस्नु हुन्छ, कुरा भइराख्छ ।’ उजेली खेमलाई खोज्न इन्डोनेशिया जाने योजनामा छिन् । ‘हामी अहिले पोर्तुगलमा छौ । अहिले बल्ल मेरो आँट पलाएको छ । खोज्न जाने योजना बनाएकी छु । मेरो बूढो ज्युँदै छन् या छैनन् पत्ता लगाउन मन छ ।’

हामीसँग कुरा गरिरहँदा उजेलीको मन यत्ति फाटिसकेको थियो कि पृथ्वीजत्तिकै गह्रुङ्गो बनेको थियो होला । आफ्न श्रीमान् भेट्न पाउने हो भने जस्तोसुकै गल्ती महशुश गर्नेछिन् श्रीमानसँग । कुराकानी अवधिभर उनको दयालाग्दो मन, चाहना र आँखामा श्रीमानको जरुरत झल्किरहेको थियो । समस्या परेकोे भए पनि मेरो श्रीमानका लागि म जस्तोसुकै त्याग गर्न तयार छु । देख्ने भेट्नेले मलाई खबर गरिदिनु भए नयाँ जीवन पाउने थिएँ, उजेलीले संसारभरका नेपालीलाई अनुरोध गरेकी छन् । (उजेलीको नाम उनकै अनुरोधमा परिवर्तन गरिएको हो ।)

Related Articles

Back to top button