vada
News

फेवा ताल मै रोपाई

फेवातालको सिरानमा ताल पुरिएर बनेको जमिनमा स्थानीयले लकडाउनको मौका छोपी धान रोपेका छन्। ७ वर्ष अघिसम्म ताल रहेको क्षेत्र पछिल्लो समयमा पुरिएर जमिन बनेको हो। त्यही क्षेत्रमा लकडाउनको मौका छोपी स्थानीयले धान रोपेका हुन्।

पोखरा महानगरपालिकाले ताल पुरिएर बनेको जमिनको माटो निकालेर पहिलेकै अवस्थामा ताल पुर्‍याउन गत वैशाखमा माटो निकाल्न एक निजी कम्पनीलाई जिम्मा दिएको थियो। ताल पुरिएर बनेको जमिनको माटो झिक्ने जिम्मा पाएको कम्पनीले तालबाट झिकेको माटो तालकै सिरानको सिमसार क्षेत्र पुर्न स्थानीयलाई बिक्री गरेको समाचार आएपछि माटो झिक्न महानगरले रोकोको थियो। त्यही माटो झिक्दा झिक्दै छाडिएको तालपुरिएर बनेको जमिनमा अहिले धान रोपिएको छ। पोखरा १८ खापौदी नजिकै फेवाको सिरानमा करिब ७/८ वर्षको अवधिमा ताल पुरिएर करिब तीन सय रोपनी जमिन देखिएको स्थानीय ज्ञानबहादुर जलारी बताउँछन्।

ताल पुरिएर बनेको जमिनमा अक्रिमण गरी धान रोपाइँ भएको विषयमा पोखरा महानरपालिकाका मेयर मानबहादुर जीसीसँग जिज्ञासा राख्दा यस विषयमा आफूलाई जानकारी नभएको बताए। तालले पुरेर बनेको क्षेत्र ताल नै बनाउन पहिले माटो झिक्ने काम भएर रोकिएको र पुर्न माटो झिक्ने प्रक्रियामै रहेका बेला धान रोप्नु मुर्खता भएको उनले बताए।

पोखरा महानगरपालिका १८ का वडा अध्यक्ष रणबहादुर थापाले ताल पुरिएर बनेको जमिनमा किसानले धान रोपेको बताए। ताललाई पुरानै अवस्थामा पुर्‍याउन माटो झिक्ने काम हुँदाहुँदै बिचैमा रोकिएपछि किसानले नरोप्न अनुरोध गर्दा खाद्यान्न संकटका बेला धान रोपेको उनले सुनाए।

रामसार क्षेत्रमा सूचीकृत पोखराको फेवाताल प्राकृतिक र मानवीय व्यवहारका कारण साँगुरिँदै गएको छ। वर्षा याममा ठूलो परिमाणमा गेग्रयान, कमेरो र माटो थुप्रिँदै जाँदा ताल संकटमा परको हो। जलाधार क्षेत्रमा जाने पहिरो खहरे खोला हुँदै तालको मुख्य स्रोत हर्पन खोलामा मसिएर तालमा थुप्रिन्छ।

फेवातालको मुहानबाट तालमा प्रत्येक वर्ष एक लाख ४२ हजार मेट्रिक टन गेग्रयान थुप्रिँदै आएको विभिन्न अध्ययनले देखाएको छ। नापी विभागको अभिलेखमा सन् १९५७ को नापीअनुसार लगभग २२ हजार रोपनीमा फैलिएको फेवाताल सन् २००० सम्म आइपुग्दा क्षेत्रफल घटेर ९ हजार ९ सय ५५ रोपानीमा सीमित रहेको उल्लेख छ।

पछिल्लो समयमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले ताल पुरिने क्रम रोक्न तालको पानीको स्रोत रहेका खोला, खहरे खोलामा सिल्टेसन पोखरी निर्माण काम गरिएको छ। पोखरा महानगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको समन्वयमा २८ करोड १६ लाखको लागतमा पाँचवटा सिल्टेसन पोखरी निर्माण कार्य भएको हो। फेवातालको सिरान घाँटीछिना, अँधेरी खोला, लौरुक खोला र बेतनी खोलामा सिल्टेसन ड्याम निर्माणको काम कुनै सकिसकेको छ त कुनैमा काम अन्तिमचरणमा पुगेको छ। पछिल्लो समयमा ताल संरक्षणमा प्रदेश सरकार र महानगरपालिकाले केही प्रयास गरे पनि अतिक्रमणमा परेको जमिन संरक्षणमा भने अझै काम हुन नसकेको नागरिक समाजका अगुवाले बताएका छन्। फेवातालको सिमाङकनसमेत अहिलेसम्म हुन सकेको छैन। अन्नपुर्णपोस्ट

Related Articles

Back to top button