vada
News

कक्षा ११ र १२ का विद्यार्थीले मासिक शुल्क तिर्नु नपर्ने

ताप्लेजुङ : ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा कक्षा ११ र १२ अध्ययन गर्ने विद्यार्थीलाई मासिक शुल्क नलाग्ने भएको छ । आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा गाउँपालिकाले प्लस टु का विद्यार्थीको मासिक शुल्क तिरिदिने योजना ल्याएको हो ।

उक्त गाउँपालिकामा प्लस टु पढाइ हुने सातवटा विद्यालय छन्। जसमा दुई सय विद्यार्थी अध्ययन गरिरहेको गाउँपालिका अध्यक्ष टिकाराम गुरुङले बताए ।  ‘निःशुल्क शिक्षा, हामी सबैको इच्छा’ नाराका साथ गाउँपालिकालाई शैक्षिक हव बनाउने अभियान सुरु गरिने गुरुङको भनाई छ ।

‘कञ्चनजंघा हिमालको काखमा रहेको गाउँपालिकालाई शैक्षिक हव बनाउने हाम्रो उद्देश्य हो,’ गुरुङले भने, ‘अब अन्य स्थानीय तहबाट आएका विद्यार्थीले पनि सिरिजंघामा कक्षा ११ र १२ निःशुल्क पढ्न पाउँछन् ।

सामुदायिक विद्यालयले कुनै पनि वहानामा विद्यार्थीबाट शुल्क उठाएको भेटिए तुरुन्त कारवाही गरिने जनाएको छ। त्यस्तै उक्त गाउँपालिकाले प्रत्येक सामुदायिक विद्यालयमार्फत स्थानीय लिम्बू भाषा र लीपि संरक्षण गर्ने कार्यक्रम समेत सञ्चालन गर्ने भएको छ ।

कृषि रोजगारीमा जोड

मंगलबार सातौं गाउँसभामा प्रस्तुत ४३ करोड ६५ लाख रुपैयाँको बजेट र ४३ बुँदे नीति तथा कार्यक्रममा पूर्वाधारभन्दा कृषि र रोजगारीमा जोड दिइएको छ। ‘अध्यक्ष रोजगार कार्यक्रम’ मार्फत् गाउँपालिकाले सञ्चालन गर्ने प्रत्येक योजनामा कम्तीमा ५० प्रतिशत स्थानीय श्रमको प्रयोग गरिने उल्लेख छ । जसले रोजगारीको अवसर प्रदान गरी गरिबी न्युनिकरणमा ठूलो मद्धत पुग्ने गाउँपालिकाको विश्वास छ ।

कोभिड १९ का कारण वैदेशिक रोजगारबाट फर्किएकालाई उद्यमशिल बनाउन सञ्चालन हुने ‘गाउँमै रोजगार, गर्वको आधार’ कार्यक्रमका लागि ४० लाख रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकाले हरेक युवालाई गाउँमै बसेर काम गर्ने वातावरण बनाउने प्रमुख प्रशासकीय अधिकृत सन्तोस घिमिरेले बताए।

Related Articles

Back to top button