vada
News

४५ वर्षे बाबुको पीर- ‘कतै मेरा छोराछोरीको पनि नागरिकता नहुने हो कि?’

संसदमा नागरिकता ऐन संशोधन विधेयक दर्ता भएपछि आमाको नामबाट छोराछोरीले नागरिकता पाउने मुद्दा फेरि व्यूतिएको छ। यो विधेयकमा पनि छोराछोरीलाई नागरिकता दिने विषयमा पुरूष र महिलाबीच विभेद गरिएको छ। यस्तो विभेदले बाबुको नामबाट मात्र सन्तानलाई नागरिकता दिलाउने हो भने नागरिकता नभएका बाबुहरूले कतिसम्म झन्झट र अपमान व्यहोर्नुपर्छ भन्ने अनिल रायामाझीको कथाले बताउँछ। त्यसैले अनिल रायामाझीको स्टोरी पुनः प्रकाशित गरेका छौ। पहिलो पटक यो स्टोरी २०७२ साल साउन २८ गते प्रकाशन भएको थियो। -सम्पादक


तत्कालिन एमाओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाल बबरमहलका अनिल रायामाझीकी छिमेकी हुन्।

संविधानसभाको चुनावमा उनी सभासद्का लागि उम्मेद्वार थिइन्। आफ्नो समस्याको समाधान गरिदिने भनेपछि अनिलले रेणुको पार्टीको झण्डा बोके। दोस्रो संविधानसभाको चुनावमा एमाओवादी र रेणुलाई जिताउन उनी दिनरात खटे।

उनको एउटै इच्छा र समस्या हो- नागरिकता।

चुनाव सकियो। बिचमा अनिल र रेणुको भेटघाट भएन।

एक महिना आफ्नो छोराको नागरिकताको प्रक्रिया सुरू गर्न वडा कार्यालय गए। तर उनका छोराको नागरिकता आमाको नामबाट बनेन। उनी रेणुकहाँ गएर झोंक्कीए,‘खै त तपाईँले भनेको जस्तो आमाको नामबाट मेरो छोराको नागरिकता बनेन।’ रेणुले भनिन्-‘एक महिना कुर्नुहोस्, नयाँ संविधानमा यस्तो व्यवस्था हुन्छ, अनि बनाउनुहोला।’

अनिल आश्वस्त भएर घर फर्किए। नागरिक आफैंले चुनेको संविधानसभाले संविधान लेख्दै थियो।

केही दिनअघि रेणुले अनिललाई फोन गरिन् – तपाईँको समस्याको समाधान हुने भयो। छोराछोरीले आमाको नामबाट नागरिकता पाउँछन्। संविधानमा ‘वा’ लेखिने भयो। यसअघि उनको अन्तर्वार्ता लिन आएका पत्रकारहरूले पनि उनलाई खुसीको खबर दिन फोन गरे, ‘अब तपाईँ ढुक्क भए हुन्छ।’

बुधबार बिहान हामीसँग भेट हुँदा अनिलले उज्यालो अनुहार लगाउँदै भने, ‘अब त आमाको नामबाट छोराछोरी र श्रीमतीको नामबाट श्रीमानले नागरिकता पाउने व्यवस्था भयो रे। हो?’

म अवाक् भएँ। मसँग भएको सूचनाले उनको अनुहारको उज्यालो झ्याप्पै निभ्छ। चुपचाप उनको अनुहारमा हेर्दै बसेँ।

***

चार वर्षअघि पनि उनी वडा कार्यालय बबरमहल पुगेका थिए। छोरीको जन्मदर्ता गराउनु थियो।

अनिलकी छोरी आकृति तण्डुकार ९ कक्षामा पढ्थिन्। एसएलसीको लागि त्यही बेला फारम भर्नुपर्ने रहेछ। आजकल जन्मदर्ता नभई एसएलसीको फारम भर्नै नपाइने नियम छ। उनी आफ्नी श्रीमतीको नागरिकता लिएर छोरीको जन्मदर्ता गराउन गएका थिए।

‘तपाईँको नागरिकता नभइ छोरीको जन्म दर्ता हुन्न,’ काडमाडौँ महानगरपालिका वडा नम्बर ११ कि सचिव अम्बिका खड्काले भनिन्।

‘मेरी छोरीले एसएलसी दिनै पाउँदीन?’ उनले आँखाभरी आँसु बनाए।

‘तपाई नभएको भए बन्थ्यो,’ खड्काले ठाडो शब्दमा अन्तिम उत्तर दिइन्।

‘त्यो दिन मलाई बरू म मरेको भए हुनेरहेछ भन्ने लाग्यो, मैले उहाँलाई पनि भनेँ, त्यसो भए म मर्छु नि त,’ त्यो दिन संझेर अनिलका आँखा भरिए।

घर आएर उनले अम्बिकाले भनेको सुनाए। आफ्नी छोरीको अनुहार हेरे- छोरीले अब पढ्न नपाउने भई भन्ने सम्झिए। उनका आँखाको उज्यालो झ्याप्पै निभ्यो।

उनी बेहोस भए। छोरी पनि बेहोस भईन।

व्यूझिँदा पनि अनिल छोरीको पीरसँगै बिउँझे।

फारम भर्ने अन्तिम दिनको अघिल्लो दिन फेरि वडा कार्यालय गए। अर्का कर्मचारी थिए। अम्बिका विदामा थिइन्।

ती कर्मचारीले ‘समिता तण्डुकारकी छोरी आकृति तण्डुकार’ भनेर सजिलै जन्म दर्ता बनाइदिए।

चैनको सास फेरे अनिलले। त्यो चैन लामो समयसम्म भने  रहेन।

एकमहिना अघि फेरि उनलाई नागरिकताको घाउ बल्झियो। छोराको नागरिकता बनाउन जाँदा वडा सचिव अम्बिकाले फेरि उही कुरा भनिन् ‘तपाईँको नागरिकता नभई हुन्न।’

‘उसको आमाको नागरिकता छ नि किन मेरो चाहियो? उसको पनि छोरो हो।’ अनिलले भने।

‘बाउको नागरिकता नभई छोरा-छोरीको नागरिता बन्दैन,’ उनले जवाफ पाए।

उनको मनमा आगो बल्यो। उनी आफ्नो छिमेकमै भएकी नेता रेणुकहाँ पुगे। रेणुको जवाफले उनी बाहिर त शान्त भएर फर्किए। तर भित्रभित्र आगो बलेको बल्यै छ।

‘नागरिकताको कुरा गर्नै मन हुन्न,’ अनिलका आँखाबाट बरबरी आँसु झरे। उनले हत्केलाले आँसु पुछे।

‘रेणु र ती पत्रकारहरुको कुरा याद हुन्छ र एकैछिन मन बुझ्छ, फेरि आफ्ना छोराछोरीको याद आउँछ र नागरिकताकै प्रश्नले मन निमोठ्छ,’ उनले भने।

छोरा अरविनले कुक सिकिरहेका छन्। ठूलाठूला तारे होटलमा जागिर खुलेको खबर लिएर आउँछन् छोरा बाबुको अनुहारमा पुलुक्क हेर्छन्।

अनागरिक हुनुको पीडा अनिलले २५-३० वर्षदेखि झेल्दै आएका छन्। अब उनका छोराको पनि पालो सुरू भएको छ।

***

उनीहरु धरान बस्थे। झण्डै २५ वर्षअघि  अनिल स्कुलबाट फर्कदा उनको घर सुनसान थियो। लुगा राख्ने बक्सा खुल्लै। त्यहाँ आमाका लुगाहरू थिएनन्।

आमा र उनको घर त डेरामा थियो। वरिपरिपरिका डेरावालहरूलाई सोधे ‘मेरी आमालाई देख्नु भयो?’

उनीहरुले भने,‘आमा झोला बोकेर गइन्।’ त्यो दिन उनी निकै रोए, ती आँसु अहिलेसम्म थामिएका छैनन्।

आमा बिना डेरा के घर हुन्थ्यो?

त्यही डेरामा बसेर उनले आमालाई कुरे। दिन बित्दै गए, आमा आइनन्। एक्लोपन झन् झन् भारी हुँदै गयो।

बाबुले त उनी सानै छँदा आमाछोरालाई छोडेर हिँडेका थिए रे, कहिलै फर्केनन्। बावुको अनुहारै याद छैन अनिललाई।

उनको नामको पछि झुण्डीएको थर आफ्नी आमाको थर हो, रायमाझी। उनैले स्कुलमा उनको नामथर लेखाइदिएकी थिइन्।

आमाले छोडेर हिँडेको केहि समयपछि उनी एक्लो शरीर, एकसरो कपडा लाएर काठमाडौं हानिए। यहाँ आएर उनी गाडीमा कन्डक्टर काममा लागे। त्यो बेला उनी च्यासल बस्थे। उनलाई पढ्नुपर्छ भन्ने थियो मनमा, त्यसैले पाटनको स्कुलमा भर्ना भए। पढे।

पछि ड्राइभिङ सिके। लाइसेन्स थिएन, तर उनले काम गर्ने ठाउँका दाइहरुले हौस्याए, ‘तँ यति राम्रो चलाउँछस केही भए म जिम्मा भएँ।’

उनी बिना लाइसेन्स गाडी कुदाउन थाले। जीवन जेनतेन अघि बढ्न थाल्यो।

उनले टाटामोवाइल चलाउन थालेका थिए २०५० सालतिर। बबरमहलको सडक विभागमा क्यान्टिन थियो, उनी त्यहीँ जान्थे खाजा खान। एकदिन त्यहाँ एउटी युवती बसेकी थिइन्। क्यान्टिन सञ्चालककी बहिनी रहिछन्, समिता तण्डुकार। पहिलो नजरमै पिरती बस्यो। पिरती पनि यति गहिरो बसेछ, त्यसको दुईदिनपछि उनीहरुले विहे गरे।

‘उ साह्रै राम्री थिई, म पनि कपालसपाल पालेको ‘हिरो’ थिएँ त्यै भएर मन पर्‍यो होला,’ अनिल मन खोलेर हाँसे, मानौं जिन्दगीको त्यो पहिलो खुसी थियो।

समितालाई भेटेपछि अनिलको जीवनमा परिवारको खालिपन भरियो। उनको सारा परिवार भनेको नै समिता भइन्।

आफ्नो वंशको जरा कहाँ छ उनलाई थाहै छैन। रगतको नाताका आफन्त कहाँ छन् भन्ने लख काट्न पनि सक्दैनन्।

सानो छँदा  पनि उनी कहिल्यै मावल जान पाएनन्, न काका काकीकोमा। आमा भएको कोठा ‘घर’ थियो बस्।

समितालाई विहे गरेको एक वर्षमा छोरा जन्मिए। ड्राइभिङले खान पुग्दैन भनेर उनले कहिले होटलमा काम गरे, कहिले गार्मेन्टमा काम गरे त कहिले डकर्मी बने। २०५७ सालतिर फेरि ड्राइभिङ गर्न थाले। अब भने लाइसेन्स नबनाई भएन भन्ने लाग्यो।

लाइसेन्स निकाल्न गए।

बल्ल थाहा भयो, नागरिकता नभई लाइसेन्स बन्दैन।

नागरिकता लिन बबरमहल वडा कार्यालय गए। अनि थाहा भयो नागरिकता लिन बावुको नागरिकता चाहिन्छ।

उनको निधारमा आमा र बाबुको औँठा छाप छैन। उनीसँग त केही थान यादहरू मात्र छन्।

वडा सचिवले एकदिन भने, ‘तिम्रो स्कुलको सर्टिफिकेट ल्याउ हुन सक्छ।’

चटक्कै छोडेर आएको धरान गए उनी। त्यहीँ उनले पढेको स्कुल थियो। अरु त केही थिएन, न आफन्त न चिनेको मान्छे।

रोइकराई गरेर पुरानो मार्कसीट निकाले उनले।

त्यहाँ उनको नाम अर्कै कुन्नी के राय थियो।

बबरमहलका वडासचिवले त्यो देखेपछि फ्यात्त फ्याँकिदिए।

आफ्नो नागरिकता बन्ने आश मारेर उनी हिँडे।

***

चारवर्ष अघि को कुरा हो, अनिलको टोलमा तरकारी बेच्न एक व्यक्ति आउने गर्थे।

हिन्दी भाषा र नेपाली दुवै बोल्थे। अनिलकी श्रीमति तरकारी किन्न ओर्लिन्।

तरकारी छान्दै गरेकी अर्की महिलासँग पसलेले नागरिकताकै कुरा गरिरहेका थिए हिन्दीमा।

माथि बसेका अनिलले सोधे ‘नागरिकताको कुरा गरिराखेका छौ, के भयो?’

त्यो व्यक्तिले भन्यो, ‘मेरो दुईटै देशको नागरिकता छ, इन्डियाको पनि नेपालको पनि।’

खल्तीबाट उसले दुवै नागरिकताको फोटोकपी झिक्यो।

अनिललाई भाउन्न भयो रे, बेस्मारी कुटिदिए ‘घुस ख्वाएर नेपाली नागरिकता बनाउँछस्?’ छोराले आएर अनिललाई छुट्ट्याए ।

काठमाडौँको सिडिओकार्यालय वरिपरि एकदिन एकजना मान्छेले उनलाई भन्यो ‘१ लाख देउ तिम्रो नागरिकता बनाइदिन्छु।’

उनी झस्के। घुस दिने एकलाखले त छोराछोरी पढाउनुपर्छ।

‘घुस खुवाएर मैले किन नागरिकता लिने, म नेपाली हुँ एकदिन बनिहल्ला!’ उनले आफूलाई सम्झाए।

तर त्यो नागरिकता कहिल्यै बनेन। आफू नेपाली हुनुको प्रमाणहरू जुटाउन नसकेर उनी थकित छन्।

‘म यहीँ जन्मेँ हुर्केँ तर मेरो नागरिकता छैन’ उनले भने ‘कहिलेकाँही लाग्छ,‘म कुन देशको नागरिक हुँ?’

उनलाई मन छ, र झिनो आश पनि- श्रीमतीको नामबाट आफूले नागरिकता लिन पाउँ।

‘यी मेरो नागरिकता भनेर एकपटक देखाउन पाए!’ उनको अनुहारमा निमेषभर आशाको बिजुली चम्कियो।

उनको जोड भने आफ्नो होइन छोराछोरीको नागरिकतामा छ।

‘उनीहरूको आमाको नागरिकता छ, आमाकै नामबाट उनीहरुको नागरिकता बनोस्,’ उनले भने ‘म जस्तो अनागरिक बनेर उनीहरुले बस्नु नपरोस।’

तर बेलाबेलामा उनको मुटु ढक्क फुल्छ, पीरले भरिन्छ।

‘कतै मेरा छोरा छोरीको पनि नागरिकता नहुने हो कि?’

(यो स्टोरी पहिलोपटक २०७५ साउन ३१ गते प्रकाशित भएको थियो।)

थप स्टोरी:

पार्टीले के भन्छ मलाई मतलब छैन, नागरिकतामा महिला-पुरूष बराबर हुनुपर्छ: शेखर कोइराला (भिडिओ)

आमाको नाममा नागरिकता नदिने २५ ‘तन्नम्’ मुलुकमा नेपाल पनि

आहुती भन्छन्- समाज विघटन भए होस्, महिलाले समान अधिकार पाउनैपर्छ (भिडिओ)

नागरिकताको बहस: समानतालाई मन्त्र बनाऔं, समयावधि आफैं मिल्छ

महिलालाई विभेद गर्ने नागरिकता विधेयक अघि नबढाउन नेकपालाई देउवाको आग्रह

प्रस्तावित कानुनअनुसार कसरी पाइन्छ आमाको नामबाट नागरिकता?

प्रधानमन्त्रीजी, नागरिकता विधेयक बुझाइ पाऊँ!

नागरिकता कानुनमा पार्टीको ह्विप झेल्दै मलिन स्वरमा बोलेका दुई महिला सांसद

‘महिलाको प्रश्नमा उदांगियो हाम्रो लोकतान्त्रिक, समानताको आन्दोलन’

Related Articles

Back to top button