vada
News

चक्रबहादुर लामालाई यसबीच कति सहकर्मी आए, कति गए हेक्का छैन। एउटा कुरा पक्का छ, ‘काली’ को साथ छुटेको छैन।

पुन्टे ज्यान, कालो भुत्ला, सुन्दर आँखा- ऊ हो काली, जो पाँच वर्षदेखि पशुपतिको विद्युतीय शवदाह गृहका कर्मचारी र यहाँ आउने मलामीहरूको साथी बनेको छ।

यो विद्युतीय शवदाह गृह २०७२ सालबाट सञ्चालनमा आएको हो। त्यसलगत्तै शव व्यवस्थापन र भवन रेखदेखको काम सम्हाल्दै आएका चक्रबहादुर लामालाई यसबीच कति सहकर्मी आए, कति गए हेक्का छैन। एउटा कुरा भने पक्का छ, उनी काम गर्न थालेदेखि ‘काली’ को साथ छुटेको छैन।

यसरी पाँच वर्षदेखि चक्रबहादुरलाई निरन्तर साथ दिँदै आएको काली एउटा कुकुरकाे नाम हो। यो नाम पनि शवदाह गृहमा काम गर्ने कर्मचारीहरूले नै दिएका हुन्।

शवदाह गृह सञ्चालनमा आउनुअघि काली कहाँ थियो, कसरी यहाँ आइपुग्यो कसैलाई थाहा छैन। कोही घरपालुवा कुकुर भागेर आएको भन्छन्। कोही पशुपति क्षेत्रकै सडक कुकुरको बच्चा होला भन्ने अड्कल काट्छन्। उमेर ठ्याक्कै थाहा नभए पनि उसको फुल्दै गएको कालो भुत्ला हेर्दा १२-१३ वर्ष भयो कि भन्ने अनुमान गरिन्छ।

यहाँका सबभन्दा पुराना कर्मचारी चक्रबहादुर यति मात्र भन्न सक्छन्, ‘शवदाह गृह उद्घाटन हुनु एक महिना अघिदेखि म यहीँ छु। काली त्यही बेला यहाँ बस्न आएको हो। पाँच वर्षमा एकदिन पनि यो ठाउँ छाडेर गएन। शवदाह गृहमा काम गर्ने कर्मचारीहरूको मात्र होइन, ऊ यहाँ आउने मलामीहरूको पनि साथी हो।’

कुकुर र मान्छेबीच भावनात्मक सम्बन्ध हुन्छ भन्ने वैज्ञानिकहरूले बताउँदै आएका छन्। वैज्ञानिकहरूको अनुमानअनुसार जंगलका ब्वाँसो आहारा खोजीमा मानव बसोबास छेउछाउ जान थाले। मान्छेले बढी भएर फालेका खानेकुरा उनीहरूको आहारा बन्यो। मान्छेको समूह एक ठाउँबाट अर्को ठाउँ चहार्दा ती ब्वाँसोले सँगसँगै पछ्याउन थाले।

विस्तारै मान्छेलाई उनीहरूको साथ सहज हुँदै गयो। जंगल–जंगल भौंतारिँदा ब्वाँसोको साथले सुरक्षा अनुभूति भयो। न मान्छेले तिनलाई लखेटे, न तिनले मान्छेलाई पछ्याउन छाडे।

त्यही भएर मान्छेलाई पीडा हुँदा कुकुरले पनि पीडा अनुभूत गर्छ र मान्छेको सुखदुःख कुकुरले महशुस गर्छ भन्ने विभिन्न अध्ययनले देखाएका छन्।

यही खुबी हामी कालीमा पनि पाउँछौं।

उसको चञ्चल स्वभावका कारण यहाँ काम गरेका कर्मचारी होस् वा एकपटक मात्र भए पनि यहाँ आएका व्यक्ति, उनीहरूले कालीलाई चिनेका हुन्छन्। वरिपरिका बसोबासीलाई पनि कालीको बारेमा राम्ररी थाहा छ। कसैले सोध्न आए सिधै काली भए ठाउँ लगिदिन्छन्।

‘हाम्रो लागि त एउटा वफादार सहकर्मी भएको छ। दु:खी भएर आएका मलामीहरूको मन पनि थोरै बहलाउँछ। कोही कोही त ऊसँग खेलेर आफ्नो निराश मन सम्हाल्ने कोशिस गर्छन्,’ उनले भने, ‘कसैले वास्ता गरेन भने ऊ पनि आफ्नै सूरमा बस्छ।’

काली दिनभरि शवदाह भवनका कर्मचारी बस्ने माथिल्लो तल्लामा बस्छ। उसको लागि भनेर भवनभित्र सानो ठाउँ छुट्टाइएको छ। यहाँका कर्मचारीले कालीलाई मनपर्ने खेलौना पनि किनेर सँगै राखिदिएका छन्।

कालीलाई खुवाउने जिम्मा चक्रबहादुर र उनका सहकर्मी पूर्ण कार्कीको हो। उसलाई हरेक दिन बिस्कुट र कहिलेकाहीँ मासु खुवाइन्छ। आफ्नो नियमित कामबाहेक यी दुई जनाको केही समय कालीको हेरचाहमा पनि जान्छ।

कालीसँग चक्रबहादुर लामा (सेतो सर्ट) र पूर्ण कार्की (कालो भेस्ट)। तस्बिर: अनुषा अधिकारी/सेतोपाटी

शवदाह गृहभित्र कुकुर राख्न पाउने कि नपाउने कुनै नियम छैन। काली सुरूको दिनदेखि यहीँ बस्दै आएकाले उसलाई कसैले धपाउँदैनन् पनि। कामको बेला ऊ कसैलाई दु:ख दिँदैन। सबै कर्मचारी व्यस्त रहँदा कुनामा थपक्क बसिरहन्छ।

यसबीच मलामी आएका कसैले राम्रो व्यवहार गरे ऊ झ्याम्मिन गइहाल्छ। नभए त्यो पनि गर्दैन। कालीका कारण बाहिरका कुकुर र बाँदरहरू धपाउनु नपरेको यहाँका कर्मचारी बताउँछन्।

‘राति ड्युटी बेला कोही आयो भने काली भुकेर हामीलाई सूचना दिन्छ। कुकुरको कान न हो, मान्छेले भन्दा अगाडि संकेत पाउँछ,’ पूर्णले भने, ‘कर्मचारी बस्ने तल्लामा कोही नयाँ मान्छे आयो भने काली लखेट्न गइहाल्छ। कोही हामीसँग झगडा गर्न आयो भने पनि हाम्रो खुट्टा चाट्दै छुट्टयाउन आउँछ।’

यस्तो प्रशिक्षित व्यवहार कालीले कहाँबाट सिक्यो भन्ने प्रश्न उठ्न सक्छ। यहाँका कर्मचारी पनि उसको व्यवहार देखेर अचम्भित हुन्छन्।

‘उसलाई यसो गर्न हामीले सिकाएका होइनौं,’ पूर्णले भने, ‘तर, कालीको व्यवहार आर्मी-पुलिसको तालिमप्राप्त कुकुरभन्दा कम छैन।’

कालीका अरू पनि केही आश्चर्यजनक व्यवहार छन्। ऊ शवदाह गृहभित्र अरू कुनै कुकुरलाई छिर्न दिँदैन। परिसरभित्र दुइटा कुकुर बस्छन्। तर, तिनीहरूको क्षेत्र घरबाहिर मात्र हो। झुक्किएर पनि घरभित्र छिर्न खोज्यो भने कालीले झम्टिहाल्छ। ती कुकुरलाई खानेकुरा दियो भने पनि ऊ रिसाउँछ।

‘एकचोटि त अरू कुकुरलाई बिस्कुट दियो भनेर कालीले मलाई नै टोकेको छ,’ चक्रबहादुरले भने, ‘के गर्नु, पिटुँ भने माया लाग्छ, खुरूखुरू गएर सुई लगाएर आएँ।’

उनले अगाडि भने, ‘आफ्नो बच्चाले आफूलाई केही हानि गर्यो भने पनि हामी माया गर्न छाड्दैनौं नि, त्यस्तै हो।’

कालीले अहिलेसम्म बाहिरी मान्छेलाई भने टोकेको छैन। उनीहरूले कालीलाई नियमित उपचार गराएर सुई लगाइदिने गरेका छन्। बेलाबेला उसको भुत्ला पनि कोरिदिन्छन्।

चक्रबहादुर कहिलेकाहीँ कालीलाई आफ्नो स्कुटरमा राखेर घर लैजान्छन्। ‘घरमा भुराभुरी छन्, तिनीहरू काली भनेपछि हुरुक्कै हुन्छन्। काली पनि बच्चाबच्चीसँग खेल्न पाएर दंग पर्छ। धेरै रमाइलो लागेर होला फर्कनै मान्दैन,’ उनले भने।

गोकर्ण घर भएका उनी कालीलाई मात्र होइन, अन्य सडक कुकुरहरूलाई पनि बिस्कुट किनेर खुवाउँछन्। कुकुरलाई खुवाउन मात्र दिनमा कति पैसा खर्च हुन्छ भन्ने उनलाई कुनै अनुमान छैन। बेलाबेला घरबाटै खानेकुरा ल्याएर पनि खुवाउँछन्। कालीलाई खानेकुरा पठाउने भनेपछि केटाकेटी पनि खुसी हुने उनी बताउँछन्।

‘हामीलाई त कालीको बानी लागिसक्यो। ऊ भएन भने नरमाइलो हुन्छ,’ चक्रबहादुरले भने, ‘भोलि काली रहेन भने पनि अर्को कुकुर ल्याएर पाल्ने सोच बनाइसक्यौं।’

Related Articles

Back to top button