vada
News

असार १५ मा किन खाइन्छ दही चिउरा ?

भक्तपुर : सोमबार असार १५ । रोपाइँ सकेको खुसीयालीमा भोजस्वरुप दही र चिउरा खाने दिन । सरकारले यस दिनमा धान दिवससमेत मनाउँदै आएको छ । नेपाली समाजमा परम्परागत रुपले नै असार १५ मा दही चिउरा खाने प्रचलन रहँदै आएको हो ।

तर असार १५ मै किन खाइन्छ दही चिउरा ? प्रायःको एउटै उत्तर हुने गर्छ, पहिलेदेखि खाँदै आएको त्यसैले । आखिरमा किन असार १५ को सांस्कृतिक महत्व छ त ? संस्कृतिकर्मीका आधारमा असारमा समयमै रोपाइँ सकिएको खुसीयालीमा दही चिउरा खाइन्छ । परापूर्वकालदेखि नै यो प्रचलन चल्दै आयो । तर समयक्रमले यसलाई असार १५ मा पुर्‍याएको संस्कृतिकर्मीको तर्क छ ।

उनीहरुका अनुसार रोपाइँ नसकिएसम्म दहीचिउरा खाइँदैन तर अहिले रोपाइँ सकियोस् या नसकियोस् प्रत्येक वर्षको असार १५ मा दहीचिउरा खाने गरिन्छ । हुन त अहिले दहीचिउरा खान असार १५ सम्म पर्खन पर्दैन । अहिले बजारमा दहीचिउरा १२ महिना उपलब्ध छन् ।

परापूर्वकालमा समयमै रोपाइँ सकिएको खुसीयालीमा भोजस्वरुप दहीचिउरा खाने चलन रहेको संस्कृतिकर्मी ओमप्रसाद धौभडेल बताउँछन् ।‘माना रोपेर मुरी फलोस् भन्ने कामना लिएर सुरु गरिएको रोपाइँ सकिएको खुसीयालीमा दही चिउरा खाने गरिएको हो’, संस्कृतिकर्मी धौभडेल स्पष्ट पार्छन् । उनले रोपाइँमा सबैलाई भ्याइनभ्याइ हुने भएकाले पकाइरहन पनि नपर्ने र तयार गर्न धेरै समय पनि नलाग्ने भएकाले दहीचिउरा खाने प्रचलनले महत्व पाएको बताए । ‘असारमा कामको व्यस्तताले अरु खानेकुरा जोहो गर्ने समय हुँदैन’, उनले थपे, ‘पकाइवरी गर्न नपर्ने र सरल रुपमा सबैका घरघरमा उपलब्ध हुने भएकाले असार १५ मा दही चिउरा खाने थिति नै बसेको हो ।’

उसबेला सबैसँग आजजस्तो माछा, मासुलगायतका पौष्टिक आहार खाने क्षमता थिएन । रोपाइँले थाकेका किसानलाई माछामासु पकाएर बस्ने फुर्सद पनि हुँदैन ।
सबैजसो किसानका घरमा गाईभैसी पालिएको हुन्थ्यो । गाईभैसीले दिने दूधले गर्दा घरघरमा दही, मही र घ्यू खाली हुँदैन । त्यस्तै खेतीकिसानी गर्ने भएकाले चिउरा पनि घरमै हुने भइहाल्यो । त्यसैले घरमै रहेको दहीचिउरालाई महत्व दिएर असारमा रोपाइँ सकिएको खुसीयालीमा भोज गर्ने प्रचलन रहेको संस्कृतिकर्मी धौभडेल स्पष्ट पार्छन् ।

दही चिउरा पौष्टिक आहार पनि भयो । धेरै समय लाग्ने गरी दहीचिउरा अरु खानेकुरा जसरी पकाइरहन पनि पर्दैन । त्यसैले यसको प्रयोगले महत्व पाएको उनी बताउँछन् । ‘यसै प्रयोगले आज संस्कृति र पर्वको रुप लिएको मात्र हो’, संस्कृतिकर्मी धौभडेल भन्छन्, ‘तर कृषिमा परनिर्भरता बढेसँगै असार १५ को महत्व खल्लो हुने क्रम बढेको छ ।’ उनका अनुसार असार १५ कृषिमा नेपालीहरुको आत्मनिर्भरताको प्रमाण हो ।‘पहिले दही र चिउरा घरकै हुन्थे’, उनी भन्छन्, ‘तर अहिले दही र चिउरा दुवै किन्नुपर्छ ।’

संकटमा दही

अहिले कमैका घरमा गाईभैंसी होलान् । गाईभैंसी नपालेपछि घरघरमा दही बन्ने कुरा भएन । तैपनि बजारबाट किनेर भए पनि असार १५ मा दहीचिउरा खाने प्रचलनमा कमी आएको छैन । विवाह, व्रतबन्ध, सभासमारोहपछि सबैभन्दा बढी दही प्रयोग हुने दिन भनेकै असार १५ हो । दही बनाउने पेसा पनि मौसमी व्यवसाय हो । माघ र फागुन महिना दहीका महिना हुन् । अरु समय भनेको चाडबाड, विवाह, व्रतवन्ध तथा सभा सम्मेलन नै हो । त्यस्तै गर्मी याममा पनि दहीको माग हुन्छ ।

तर बजारमा दूध अभाव भएपछि दही संकटमा पर्दै आएको दही व्यवसायी कृष्णगोपाल सैंजू बताउँछन् ।‘दूध आवश्यक मात्रामा नआउँदा अहिले दही धेरै जमाउन पाइँदैन’, उनले भने ।

भक्तपुर नगरभित्र करिब एकसय पचास घरपरिवारले परम्परागत रुपमा मौलिक जु जु धौ बनाउँछन् । उनीहरुले वार्षिक एक हजार पाँच सय मेट्रिक टन दही बनाउँछन् । दही भक्तपुरको मौलिक उत्पादन हो । भक्तपुरमा बन्ने विशेष प्रकारको दहीलाई जुजु धौ (राजा दही) भन्ने प्रचलन पनि रहँदै आएको छ । त्यसैले सबै दही जुजु धौ होइन ।

दही बनाउने पेसा आफैँमा स्वतन्त्र र आत्मनिर्भर व्यवसाय भने होइन । यो पशुपालनमा आधारित व्यवसाय हो । त्यसमा पनि गाईको दूधबाट राम्रो दही बन्दैन । त्यसैले शुद्ध भैंसीको दूध आवश्यक पर्छ । सहरीकरण र फेरिएको जीवनशैलीले नेपाली समाजमा पशुपालन क्रमशः घट्दै आएको छ ।

Related Articles

Back to top button