vada
News

प्रक्रिया पुरा नगरी राजधानी नआउनु– १५ सयलाई साँगाबाट फर्काइयो

भक्तपुर । कोरोना संक्रमण कम गर्न सरकारले लकडाउन गरेको तीन महिना भयो । केही हप्तायता लकडाउन खुकुलो भएपछि राजधानी छिर्नेहरुको लाइन थानकोट, साँगा नाकामा लाग्ने गरेको छ ।  मंगलबार महानगरीय प्रहरी परिसर भक्तपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जगातीका वृत्तका प्रमुख प्रनाउ (डीएसपी) चक्रराज जोशीले भने– ‘आवश्यक प्रक्रिया पुरा नगरी राजधानी नफर्किन आग्रह गर्दछु ।’

सम्बन्धित जिल्ला प्रशासन र काठमाडौं प्रशासनसँग समन्वय गरेर आफ्नो काम भएमात्र राजधानी प्रवेश गर्न प्रहरीले आग्रह  गरेको छ ।  पूर्व झापाबाट राजधानी आउन विभिन्न जिल्ला पार गरेर साँगा आइपुगेपछि फर्काउदा निकै असहज हुने भएकाले अन्यत्र समेत चेकजाँच हुनु पर्नेमा समेत डीएसपी जोशीले जोड दिए ।

प्रहरीले असार ८ गतेदेखि १४ गतेसम्म १ हजार ५ सय ३ जनालाई राजधानी छिर्ने पूर्वी नाका साँगाबाट फर्काइएको छ ।  ‘६ पाङ्ग्रे, ४ पाङ्ग्रे र २ पाङ्ग्रे गरेर ६ सय ६७ सवारी साधानमा आएका ती मानिसहरुलाई फर्काएका हौं’ डीएसपी जोशीले भने ।

विगतमा लकडाउन सुरु भएपछि गाउँ फर्किएजस्तै गरेर मानिसहरु राजधानी प्रवेश गरिरहेकाले थप सचेत हुनुपर्ने अवस्था रहेको प्रहरीको बुझाई छ ।  महानगरिय प्रहरी परिसर भक्तपुरकी प्रमुख प्रहरी उपरिक्षक (एसपी) तारादेवी थापामा समाजमा अपराध न्यूनिकरण गर्न प्रहरी र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताइन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै एसपी थापाले भनिन्– ‘हामीबाट पनि कहिल्यै काहीँ कमीकमजोरी र गल्ती हुन सक्छ, तपाईहरुले सुझाव दिनुहोस् पक्कैपनि सुधार गर्नेछौं । ’ एसपी थापा अघिल्लो हप्ता मात्रै प्रहरी परिसर भक्तपुरका सूरुवा भएर आएकी हुन् ।

Related Articles

Back to top button