vada
News

चिनियाँ राजदूतको सक्रियताले प्रधानमन्त्री ओलीको ठूलो खड्गो टर्यो

काठमाडौं। प्रधानमन्त्री केपी ओलीको ठूलो खड्गो टरेको छ। दोस्रोपटक पनि पार्टीका नेताहरूले मागेको राजीनामा छेक्न उनी सफल भएका छन् । दुवैचोटि उनको प्रधानमन्त्रीको पद थमौतीमा चिनियाँ राजदूत होउ यान्छीको सक्रियता नै प्रमुख कारण बनेको विश्लेषण राजनीतिक क्षेत्रमा हुने गरेको छ।

चार महिनाको बीचमै ओलीलाई नेकपा अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा दिन पार्टीबाटै निकै ठूलो दबाब परेको थियो। कतिसम्म भने यसपटक त पार्टी विभाजन हुने संघारमै नेकपा पुगेको थियो । तर, दुई दिनयता आफ्ना प्रतिपक्षको आवाज मत्थर देखिएको छ।

यसपटक पनि ओलीले आफ्ना विरोधीलाई थामथुम पार्न सके भने अबको साढे दुई वर्षसम्म उनी नै प्रधानमन्त्रीको कुर्सीमा बस्ने नेकपाका नेताहरु बताउँछन् । प्रधानमन्त्री ओली निकट नेता महेश बस्नेत र गोकुल बास्कोटा कुनै पनि हालतमा प्रधानमन्त्री र अध्यक्षबाट ओलीले राजीनामा नदिने बताउँदै आएका छन्।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका नेताहरु नै अब ओलीको विकल्प तत्काल नखोज्ने मनस्थितिमा पुगेको देखिएको छ । खासगरी चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति, प्रधानमन्त्री, प्रचण्ड, माधव नेपाललगायतका शीर्ष नेतालाई भेटेर तत्काल विवाद समाधान गर्न निर्देशन दिएपछि नेकपाको विवाद मत्थर भएको हो।

आफ्नो कुर्सी जोगाउन यसपटक प्रधानमन्त्री ओलीले विदेशी हस्तक्षेपलाई खुलमखुला भित्र्याएका छन् । चिनियाँ राजदूतलाई अनावश्यक चलखेल गर्न छुट र साउथ ब्लकबाट आएका भारतीय खुफिया एजेन्सीका प्रतिनिधिलाई काठमाडौंमै चलखेल गर्न सरकारले छुट दिएको देखियो । यस्तो खुलेयाम विदेशी हस्तक्षेप त यसअघि कहिल्यै पनि थिएन।

Related Articles

Back to top button