vada
News

पार्टीले कारवाही गरेपछि सुरु भयो सरिता गिरीको दौडधुप: निर्वाचन आयोगमा उजुरी, सभामुखलाई बुझाइन् पत्र

काठमाडौं, २५ असार । पार्टीले कारवाहीको निर्णय गरेपछि जनता समाजवादी पार्टीकी सांसद सरिता गिरी कानुनी उपचारको दौडधुपमा छन् । उनले पार्टी निर्णय विरुद्ध सर्वोच्च अदालत जाने बताएकी थिइन् । जसपाले गिरीलाई साधारण सदस्य नरहने गरी कारवाही गर्ने निर्णय गरेको छ । साथै संसद पदवाट समेत निस्काशन गर्ने निर्णय गरेर संसद सचिवालयमा जानकारी पठाउने निर्णय पार्टीले गरेको छ ।

जसपाले पार्टीको साधारण सदस्य समेत नरहनेगरी निस्काशन गरेपछि त्यसकाविरुद्ध सांसद सरिता गिरीले निर्वाचन आयोगमा उजुरी हालेकी छन्। बिहिवार उनी निर्वाचन आयोग पुगेर निवेदन दिएकी हुन् । पार्टीको कुनै पनि निर्णय केन्द्रीय कमिटीबाट मात्रै छिनोफानो हुने भए पनि पार्टीका शीर्ष नेताले कार्यकारिणी समितिबाटै आफूलाई कारवाही गरिएको भन्दै त्यो कानुन सम्मत नभएको उनको तर्क छ । उनले यो सबै प्रकृयाको छानविन गर्न आयोगलाई आग्रह गरेकी छन् । कार्यकारीणी समितिले आफुलाई पार्टीको साधारण सदस्यवाट हटाउन नमिल्ने तर्क गिरीले गर्दै गएकाी छन् ।

यस्तै पार्टीको कारवाहीमा परेकी गिरीले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई पनि आफ्नो कारवाही वैधानिक नभएको भन्दै पत्र लेखेको बताइएको छ । उनले पार्टीको पत्रका आधारमा आफ्नो संसद पद निलम्बन गर्न नमिल्ने तर्क सहित सभामुखलाई निवेदन दिएकी छन् ।

नेपालले लिम्पियाधुरा समेट समेटेर नयाँ नक्सा जारी गरेपछि उनले त्यस विरुद्ध दिएको अभिब्यक्तिका कारण विवादित बन्दै आएकी थिइन् । उनले संसदमै नयाँ नक्सा जारी गर्दा छिमेकी मुलुकको राय लिनुपर्ने भनाई राखेकी थिइन् । साथै संविधान संसोधनका लागि भन्दै संसदमा पेश गरिएको प्रस्तावको विरुद्धमा उनले आफ्नो मत भन्दै सचिवालयमा निवेदन दर्ता गरेकी थिइन् ।

जनता समाजवादीले संसदमा नयाँ नक्सा संविधानमा समावेश गर्दा संसदमा छलफलका लागि प्रस्तुत विधेयकका बेला पक्षमा भोट हाल्ने पार्टिको ह्विप नमानेर उनले विपक्षमा निवेदन दर्ता गराएकी थिइन् । पार्टीले स्पष्टिकरण सोध्दा पनि गिरीले आफुलाई स्पष्टिकरण सोध्ने अधिकार नभएको जवाफ पार्टीलाई पठाएकी थिइन् । उनले पार्टीको कारवाही पछि उनले अदालतको ढोका ढकढक्याउने अभिब्यक्ति दिएकी थिइन। उनले पार्टीका शीर्ष नेतालाई मुद्दा हाल्ने चतावनी पनि दिएकी थिइन्।

Related Articles

Back to top button