vada
News

बाबु गुमाएपछि आदर्श मिश्रको ओलीलाई चुनौती : मेरो बाबाले चलाएको स्कुल हेर र तिमीले चलाएको देश

बाबा हुनुहुन्न अब। मेरो बाबाको अवस्था यस्तो हुनुको पूरै जिम्मेवार चाहिँ नेशनल मेडिकल कलेज (एनएमसी) र नारायणी सरकारी अस्पताललाई मान्छु। किनभने दुई हप्ता अगाडि बाबालाई डायलासिसमा लैजाँदा एचपीओ टू छ भनेर यहाँ डायलासिस हुँदैन भनेर एनएमसीबाट निकालिदिएको हो। चार वर्ष बाबाले एनएमसीमा डायलासिस गराउनु भएको हो। प्रति डायलासिसको सरकारले ३५ सय दिन्छ। कमाउने बेलामा तिमीहरु कमाउने, पेसेन्टलाई गाह्रो भएको बेलामा धपाइदिने। अनि त्यहाँ चाहिँ मेसिनहरु केही पनि राम्रो छैन। एनएमसीको कन्ट्र्याक्ट लिएको छ नेफ्रो प्लसले जुन इन्डियन कम्पनी हो। अनि इन्डियाको एक नागरिक जो नेपालमा कार्यरत छ त्यसले डिसाइड गर्न पाउँदैन – कसको डायलासिस हुन्छ कसको हुँदैन भन्ने। को बाँच्छ र को बाँच्दैन भन्ने डिसाइड इन्डियाबाट यहाँ आएर कार्यरत गर्ने व्यक्तिले गर्न पाउँदैन। इन्डियाको मानिस यहाँ आएर तलब खाने हो, नेपालको पेसेन्टलाई हप्काउने होइन। हाम्रो लाइफ त्यसको हातमा छैन।

कमिसनका लागि एउटा डाइलोजरले १२ वटासम्म डायलासिस गरेका छन् मेरो बाबाको। आठ, नौ वटा त मिनिमम छ। मसँग छ सबै लिस्ट। गत वर्ष नारायणीमा कोभिड वार्ड बनाउँदाखेरी त्यहाँका पेसेन्टहरुलाई एनएमसीमा सिफ्ट गरेको थियो। एक महिनामा ५ जना मानिस मरेका थिए – डायलेजर नफेरेर। नेफ्रो प्लसले पैसा बचाउन अति धाँधली गरिरहेको छ त्यहाँ।

एनएमसी अस्पताललाई गत साता केन्द्रबाट आदेश आएको थियो – २० प्रतिशत बेड कोभिड इन्फेक्टेड पेसेन्टहरुका लागि छुट्याइदिनु भनेर। अनि एनएमसीले – म केन्द्रको आदेश मान्दिन भन्यो। किन भन्यो? एनएमसीको फाउन्डर वसुरुद्धिन अन्सारी हुन्। उनी अति नै शक्तिशाली छन्। गुण्डागर्दी उहाँको अति नै धेरै चल्छ। उहाँलाई केरकार गर्न सक्ने कोही पनि छैन। उहाँ यति शक्तिशाली हो कि गत वर्ष केपी शर्मा ओलीको किड्नी प्रत्यारोपणमा जति पनि खर्च भएको हो वसुरुद्धिन अन्सारीले व्यक्तिगत रुपमा तिरेको हो। प्रेस विज्ञप्ति निकालेर उहाँले त्यो कुरा अनाउन्स गरेको हो। कलेजमा विद्यार्थीहरुले शुल्क बढायो, सुविधा छैन भनेर आन्दोलन गर्दा गुण्डा बोलाएर कलेजमा विद्यार्थी कुट्न लगाएको हो। त्यतिसम्म घटीया अस्पताल हो एनएमसी।

एनएमसीको गुण्डागर्दीले गर्दा आज मेरो बाबा हुनुहुन्न। यसको कुनै सुनुवाई नै छैन। यसको छानविन हुन्छ? हुँदैन। कोही पनि छैन काठमाडौंबाट आएर चेक गर्ने कि – ‘तँ मेडिकल कलेज चलाउन योग्य छस् कि छैनस्।’ पैसामात्र भएर हुन्छ? पैसा मात्र भएर हुने भए त पैसाकै मात्र कमी त थिएन नि मलाई। नारायणी अस्पतालले यस्तो बेलामा सत्रुतापूर्ण व्यवहार गर्‍यो। नारायणी अस्पतालले यदि एनएमसीले आफ्नो पेसेन्टको डायलासिस आफैँ गर्दैन भने हामीले किन गर्ने भन्छ। किनभने तपाईँको मेडिकल सुपेरिटेन्डेन्टले हो मिडियामा गएर स्वीकारेको हो – प्रदेश नम्बर २ का जति पनि कोभिड संक्रमित छन् तिनको डायलासिस म गर्दिन्छु नारायणीमा भनेर।

एउटा मेसिन बिग्रिँदाखेरी त्यहाँ काम गर्ने नर्स दिदीले फोन गरेर – भाइ दुवै मेसिन बिग्रियो भनेर अफवाह फेलाउनु भयो। उहाँलाई कारवाही हुने कि नहुने? ‘भाइ सूचना नै आइसक्यो’ भन्नुभयो। सूचना आएकै छैन। डाक्टरले युरिया उहाँको ब्रेनमा पुगिसक्यो, प्लिज चार घन्टा डायलासिस गरिदिनुस् भन्नुभयो। डाक्टर हुँदा चार घन्टाको टाइमर सेट गर्ने अनि डाक्टर गइसकेपछि तीन घन्टामा झारिदिने! एक घन्टा टाइम घटाएर बाँच्ने आयु पनि घटाइदिएको हो नि दिदी हजुरले। हजुरलाई छिटो घर पुग्नु थियो होला तर कोही मान्छे चाहिँ घर पुगेनन् क्या! घरै पुगेनन्। एक घन्टा घटाइदिनाले। त्यसको लागि धेरै धेरै धन्यवाद।

मानिसहरुले भनिरहेका छन् अहिले – आदर्शको बाबाले धेरै नै गर्वानुभूति गर्नुहुन्छ होला अहिले। तर, छोरोको रुपमा म पूर्ण रुपमा पराजित भएँ। मैले सकिन गर्न गर्नुपर्ने कुराहरु। उहाँलाई बचाउन सकिन्थ्यो होला, गलत निर्णयहरु लिएँ होला मैले। मैले काठमाडौं लिएर जानुपर्ने थियो होला। भरतपुर हस्पिटलमा रातभर डाक्टरलाई भने – ‘सर १०५ ज्वोरो छ, बाबालाई होस छैन सर।’ ‘एचपीओ टू ठीक छ भाइ, भाइटल्स ठीक छ भाइ।’

‘आइसीयूमा राखिदिनुस् न सर। आइसीयूमा राखिदिनुस् न सर’ भन्दाभन्दै भन्दाभन्दै बिहानको १० बजे बाबा बित्नुभयो। एचपीओ टू मात्रै ठीक भएर कोभिड १९ ठीक हुने भए म पनि अक्सिमिटर लिएर डाक्टर हुन्थे नि! स्ट्यान्डअप किन गरिरहेको हुन्थेँ?

अहिले मानिसहरुले के भनिरहेका छन् भने – आदर्शको बाबा जहाँ हुनुहुन्छ हेरेर खुशी हुनुहुन्छ। कि उहाँ, उहाँको छोरोका नामले चिनिनुभयो – विनोद मिश्रा, फादर अफ आदर्श मिश्रा।

त्यस्तो केही पनि होइन। तपाईँहरुले मेरो बाबालाई नचिनेको हो। मेरो बाबा मभन्दा धेरै चर्चित हो। म एक पटक टेलिभिजनमा आइसकेेँ तर यो क्षेत्रमा मभन्दा धेरै मेरो बाबालाई चिन्छन्। अहिले पनि विनोद मिश्राकै छोरा भनेर चल्छ चारैतिर नाम। कुनै पनि पसलमा विनोद सरको घरमा लैजान परेको छ यो औषधि भन्दा पैसा तिर्न परेको छैन आजसम्म। त्यतिसम्मको विश्वासिलो र इमान्दार – अहिलेसम्म कसैमा हिम्मत छैन कि किचड उछाल्न मेरो बाबामाथि। पैैसाको कुरामा कि व्यवस्थापनको कुरामा, केही पनि कुरामा।

उहाँ नवल स्कुलको प्रिन्सिपल हुनुहुन्थ्यो। जो कसैलाई सोध्नुस् पहिले स्कुल कस्तो थियो अहिले कस्तो भयो। केही सुविधा थिएन पहिले अहिले कस्तो भएको छ। किड्नी फेल भएर पनि त्यस्तो काम गर्न सक्ने मानिस। केपी ओलीले त छोड्दे हुन्छ कुर्सी।

मेरो बाबा गएको हो डायलासिस हप्ताको दुई पटक स्कुटरमा बसेर। तर पनि मेरो बाबाले चलाएको स्कुल हेर र तिमीले चलाएको देश हेर एकचोटी। अनि लाज लाग्दैन भने मलाई भन। काम गर्न दिएनन् मलाई भन्छौं? काम गर्न मन कहाँ छ तिमीलाई? ‘त्यो पर्दैन’ भन्दै बस्ने? भेडाहरु पछाडि जम्मा गरेका छौ। त्यही हुल बोकेर जतिखेर इन्डियाको विरोधमा बोलेर। व्याक अफ इन्डिया भनेपछि एक हुल नेपाली पछाडि लागि हाल्छन्। त्यो सेन्टिमेन्टमा जित्यौ तिमीले चुनाव। मधेशी नेताभन्दा बेटर भनेका मात्र हौ, राम्रो नेता त तिमी होइनौ। इत्ती पनि राम्रो नेता होइनौ तिमी।

बिहान १० बजे डाक्टरले मलाई बोलाउनु भयो। भन्नुभयो – आदर्श, हामीले जे गर्न सक्थ्यौं गर्‍यौं। बाबा अब हुनुहुन्न। त्यसपछि मैले तीनवटा शब्दमात्र भने – ठीक छ। ठीक छ। ठीक छ। अनि म चुप लागेर गएर बसेँ। तीन घन्टासम्म अस्पतालमा मलाई मात्र थाहा छ बाबा बितिसक्नुभयो भनेर। दिदीलाई थाहा छैन, ममीलाई थाहा छैन।

अब झुट बोल्नेक्रम चालु भयो। पहिले देखि बानी थियो झुट बोल्ने। यसपाला ढाड्न लास्टै जरुरी थियो के! यसपाला ढाट्दा समातियो भने चाहिँ धेरै गाह्रो हुन्थ्यो। मेरो ममीले यसअघिदेखि नै टाउको र हात भित्तामा हान्न थालिसक्नु भएको थियो। ममीले डिप्रेसनको औषधी चलाइरहनु भएको छ। अहिले पनि खाइरहनु भएको छ। अस्पतालमा एकपछि अर्को झुट बोलिरहेँ – ‘ममी बाबाको रिडिङ स्टेबल आएको छ। मुटुको धड्कन देखाइरहेको छ। बिस्तारै ठीक हुनुहुन्छ।’ भन्दा भन्दै, ढाट्दा ढाट्दै। अन्तिममा गएर सन्देश र राकेशले आएर सम्हाले मलाई। नत्र के हुन्थ्यो मलाई।

बाबालाई त्यसपछि जितपुर लिएर आउनुपर्ने भयो। ममीलाई अब के भन्ने त्यहाँ? त्यहाँबाटै लिएर जाँदा ‘बित्नुभयो’ भन्ने थाहा पाउनुहुन्छ भनेर – ‘ममी यहाँ भेन्टिलेटर खाली छैन। नारायणी अस्पतालमा व्यवस्था भएको छ। हामी त्यहाँ जाउँ, बाबाको उपचार त्यहाँ हुन्छ’ भन्यौं। त्यतिखेर बाबाको शव प्याक गरिसकेको थियो। एम्बुलेन्समा हालिसकेको थियो। आफ्नो पति गुमाएको मेरी आमालाई ‘तेरो बुढोको नारायणी अस्पतालमा उपचार हुन्छ’ भनेर सोझै श्मसान घाटमा लिएर गएँ। कति पाप छ मेरो टाउकोमा?

मलाई जीवनमा खासै धेरै पछुताउ छैन। तै पनि तीन वटा कुराको एकदमै पछुताउ छ। पहिलो कुरा – मेरो बाबाले वित्नुभन्दा दुई दिन अगाडि मलाई नचिन्नु भएको हो। आदर्श बेटा छोरा भनेर ‘को हो यो?’ भन्नु भएको हो बाबाले। अन्तिम स्मरण नै मेरो त्यही हो। जति पापा पापा पापा भनेर बोलाए पनि बोल्नु हुन्थेन। अर्को कुरा – नेपालको ठूलै स्ट्यान्ड अप कमेडियन मान्दा रहेछन् मलाई मान्छेहरुले। राम्रै कमेडी गर्छ भन्छन्। तर, जीवनमा एउटा पनि सो बाबालाई लाइभ देखाउन सकिन। लास्टै नै ठूलो सपना थियो। प्रज्ञा प्रतिष्ठानमा एउटा सो गरेर बाबालाई फ्रन्ट रो मा राखेर एक घन्टा बाबाका बारेमा… फेलियर भइयो।

यही हो, खासै धेरै कुरा छैन मसँग। पूरै कथा यही हो। एनएमसी, नारायणी मिलेर खाइदिए एउटा मानिसको जीवन। अब कति मानिसको खान्छन् मलाई थाहा छैन। तर, लड्ने प्रयास जारी राखौं जति जीवन बचाउन सकिन्छ बचाऔं। मबाट जति हुन्छ म गर्न तयार छु। मलाई १०/१२ दिनको समय चाहिन्छ होला। किरिया सकेर तपाईँहरुको हेल्थपोस्टहरु, अक्सिजन सबै आवश्यकता पूरा हुन्छ। धन्यवाद। राम्ररी बस्नुस्।

हिजो पानी परेको थियो के – ठूलै मानिस मरेको हो नि। सानतिनो मानिस मरेको होइन। हिजो आकासमा ज्यान आएजस्तो देखिन्थ्यो – त्यो मेरो बाबाको ज्यान थियो लिएर गएको।

Related Articles

Back to top button