vada
News

भका भक मर्न थाले टर्की कुखुरा , देखिन थाल्यो यो रोग , साबधान रहनुहोला !

काठमाडौं फेरि बर्ड फ्लु देखिएको छ । कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकामा पालिएका टर्कीमा बर्ड फ्लु देखिएको हो । बर्ड फ्लु रोग पुष्टि भएसँगै त्यस क्षेत्रमा टर्की नस्ट गर्न बुधबार बिहानैदेखि टोली खटाइएको पशु सेवा विभागले जनाएको छ । विभागका प्रवक्ता डाक्टर चन्द्र ढकालका अनुसार अस्वाभाविक रूपमा टर्की मर्न थालेको नमुना सङ्कलन गरेर केन्द्रीय प्रयोगशालामा परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको हो ।

बर्ड फ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र नदिन र तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरिएको छ । यसअघि काठमाडौं तारकेश्वर, ललितपुरको नख्खु लगायतका क्षेत्रमा पनि केही महिनाअघि लोकल कुखुरा, लेयर्स र टर्कीमा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको थियो ।

प्रारम्भिक रुपमा करीब ८०० टर्की नष्ट र सो क्षेत्रमा निसंक्रमण गर्न बुधबार बिहानैदेखि प्राविधिक खटिएको सूचना अधिकारी ढकालले जानकारी दिए ।अस्वाभाविक रुपमा टर्की मृत्युको सूचना पछि विभागले नमूना संकलन गरेर केन्द्रीय प्रयोगशालामा रियलटाइम पीसीआर विधिबाट गरेको परीक्षणमा बर्डफ्लु पुष्टि भएको हो ।

‘हामी अहिले संक्रमण थप फैलन नदिने काम गरिरहेका छौं’ सूचना अधिकारी ढकालले भने । व्यावसायिक प्रयोजनका लागि किसानले फर्ममा पालेको टर्कीमा उक्त संक्रमण पाइएको विभागले जनाएको छ ।

पन्छी नष्ट र निसंक्रमण विधि सकिएपछि बुधबार साँझसम्म विस्तृत विवरण सार्वजनिक गर्ने तयारी भइरहेको विभागले जनाएको छ । काठमाडौंको तारकेश्वर, ललितपुरको नख्खु लगायतका क्षेत्रमा केही महिना अघि लोकल कुखुरा र टर्कीमा बर्डफ्लु पाइएको थियो ।

Related Articles

Back to top button