vada
News

कालीकोट जान संखुवासभादेखि पैदल हिँड्ने बाबुछोरा

८ जेठ, कोशी व्यारेज (सप्तरी) । ७ जेठ २०७६ अपरान्ह ३ बजे । सप्तकोशी आफ्नो गतिमा दक्षिण वेग मारिरहेको छ । गाडी र मानिसको भीडभाड रहने कोशी व्यारेज सुनसान छ । एकाध मोटरसाइकल, ट्रक, एम्बुलेन्स र ट्यांकर पुल वारपार गरिरहेका छन् ।

व्यारेजको पश्चिम छेउमा नेपाल प्रहरीका तीन र सशस्त्र प्रहरी बलका चार जना ड्युटीमा छन् । नजिकै वस्ती भएपनि यो पूर्व–पश्चिम राजमार्गमा कोही निस्किएका छैनन् । झरीले खल्बल्याइरहेको निर्जनतामा एकाएक पूर्वतिरबाट दुई पुरुष प्रकट हुन्छन् । निथ्रुक्क भिजेका उनीहरु प्रहरी चेकपोष्ट अगाडि आएर उभिए ।

दुवैले झोला बोकेका छन् । ‘सर, अब हिँड्न नसक्ने भयौं, कुनै ट्रक रोकेर पठाइदिनुस् । यति गरिदिनुस् हजूर !’ उनीहरुले बिन्ती गरे ।

ड्यटीमा रहेका सशस्त्र प्रहरी हवल्दारले लकडाउनमा कुनै पनि गाडीले मान्छे नबोक्ने, बोके कारबाहीमा पर्ने सुनाए ।

थकित–गलित दुवै पैदल यात्रुको अनुहार मलिन बन्छ । लाग्छ, उनीहरु अब रोइहाल्ने छन् । ओठमुख सुकेका उनीहरु मायालाग्दो अनुहारले प्रहरीलाई हेर्छन् । उनीहरु संखुवासभा जिल्लाको खाँदबारीबाट कालीकोटको पचाल झरना गाउँपालिका– ५ मा रहेको घर हिँडेका बाबुछोरा राजबहादुर शाही र बिक्रम रहेछन् ।

‘ठूलो विजोग भयौं, सर’, ५२ बर्षीय राजबहादुरले भने, ‘सडकमा काम लगाएका ठेकेदार पैसा नदिई अलपत्र छाडेर कता गए कता । केही दिन त जसोतसो बस्यौं, खाना नै जुटाउन नसकेपछि घर हिँडेका, यहाँसम्म आइपुग्न ६ दिन लाग्यो ।’

२६ बर्षे छोरा बिक्रमले बाटामा एकजना दयालुले दिएको बिस्कुट मात्र खाएको बताएपछि हामीले उनीहरुका लागि चाउचाउको व्यवस्था गर्यौं ।
त्यसपछिको कुराकानीमा राजबहादुरले भने, ‘बिक्रमले खाँदबारीमा काम गरेको डेढ बर्ष भयो, म गएको चाहिँ ६ महिना भएको थियो ।’

यत्तिकैमा कोरोना संक्रमणको महामारी रोक्न सरकारले लकडाउन गर्दा बाउछोराले डेढ महिनाको पारिश्रमिक पाएका थिएनन् । त्यसअघिको पैसा उनीहरुले घर पठाइसकेका थिए । ‘हामीसंग काम गर्ने भोजपुरका पनि १७ जना थिए’, बिक्रमले भने, ‘पैसा नदिई ठेकेदार सम्पर्कविहीन भएपछि साथीहरु घर जाने भए अनि हामी पनि उनीहरुसंग भोजपुर गयौं ।’

बेखर्ची यी बाबुछोरा भोजपुरमा साथीहरुको घरमा भात खाएर जे त होला भन्दै बाटो सोध्दै यता लागेका रहेछन् । त्यसपछि तातो भात खान नपाएको उनीहरुले बताए ।

उनीहरुले संखुवासभाबाटै आफ्नो गाउँपालिका प्रमुखलाई फोन गरेर घर आउन चाहेको बताएका रहेछन् । ‘उहाँले जसोतसो नारायणघाटसम्म आउनू भन्नुभएकोले पनि हिँड्ने आँट गर्यौं’, राजबहादुरले भने, ‘त्यहाँसम्म पुग्ने व्यवस्था मिलाइदिनुभए ठूलो धर्म हुने थियो ।’

नारायणघाट ३३८ किलोमिटर टाढा थियो । हामी भने एकाध पोका चाउचाउ र पानीका वोतल थमाउने बाहेक केही गर्न नसक्ने अवस्थामा थियौं । केही बेर ढुक्कले आराम गर्न भन्यौं । तर, उनीहरु घर पुग्ने हतारमा थिए ।

बाबुछोरा उठेर विदा भए । उनीहरुका अगाडि पश्चिमतिर तातो राजमार्गमा अपरान्हको घाम तिर्मिराईरहेको थियो ।

Related Articles

Back to top button