vada
News

काठमाडौंका यी ७१ ठाउँमा देखियो कोरोना संक्रमण (ठाउँको नामसहित)

काठमाडौं । उपत्यकाका ७१ ठाउँमा कोरोना संक्रमण देखिएको छ ।

काठमाडौं उपत्यकामा सोमबार ५४ जना, मंगलबार २८ जना र बुधबार २३ जनालाई कोरोना पोजिटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म काठमाडौं उपत्यकामा २ सय ९० जना संक्रमित छन् । तिनमा काठमाडौंका १ सय ९१, ललितपुर ५६ र भक्तपुरका ४३ जना छन् । मन्त्रालयका अनुसार काठमाडौंका ३५, भक्तपुरका ८ र ललितपुरका २ जना डिस्चार्ज भएका छन् ।

पछिल्ला तीन दिन भेटिएका १ सय ५ जना संक्रमितको ठेगाना विश्लेषण गर्ने हो भने टोलटोलमा कोरोना संक्रमण फैलिएको देखिन्छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु (ईडीसीडी) अनुसार आइतबारसम्म उपत्यकाका १२ ठाउँका स्थानीयमा ट्राभल हिस्ट्री नै नभएको पाइएको छ । ‘पछिल्लो तीन दिनमा यो संख्या ह्वात्तै बढेको छ,’ कन्ट्याक्ट ट्रेसिङमा खटिएका एक कर्मचारीले भने, ‘विदेशबाट आएका भन्दा कतै नगएका व्यक्तिमा संक्रमण बढेको छ ।’

पछिल्ला तीन दिन संक्रमित देखिएका र ईडीसीडीले ट्राभल हिस्ट्री नभएको भनेर पहिचान गरेका १२ ठाउँको विश्लेषण गर्दा उपत्यकाका ७१ ठाउँका स्थानीयलाई कोरोना पोजिटिभ देखिएको छ ।

ईडीसीडीका अनुसार काठमाडौंमा ४०, ललितपुरमा २३ र भक्तपुरमा ८ ठाउँमा कोरोना संक्रमण देखिएको हो । विदेशबाट फर्केर होटलको क्वारेन्टाइनमा बसेकाको तथ्यांक यसमा समावेश गरिएको छैन ।

पछिल्लो तीन दिनमा काठमाडौंको कपुराधारा, कपन, चन्द्रागिरि, मैतीदेवी, मरुहिटी, कीर्तिपुर, पुरानो बानेश्वर, शंखमूल, चाबहिल, बालुवाटार, धुम्बाराही, महाराजगन्ज, तारकेश्वर, सीतापाइला, मनमैजु, नैकाप, गल्फुटार, कलंकी, धापासी, गोकर्ण, बसुन्धारा, बाफल, रानीवन, हाँडीगाउँ, कोटेश्वर, ट्याङ्लाफाँट, तीनकुने, खुसिबु, कागेश्वरी, टोखा, मूलपानी, काँडाघारी, साँखु, बौद्ध, बागबजार, वनस्थली, ताहाचल, सामाखुसी, टेकु र कुलेश्वरमा संक्रमित भेटिएका छन् ।

त्यस्तै ललितपुरको महालक्ष्मी, लुभु, लगनखेल, महालक्ष्मी स्थान, बुङ्मती, सानेपा, ठैब, पाटन, गोदावरी, सुनाकोठी, धापाखेल, हरिसिद्धि, हात्तीवन, चापागाउँ, भैंसेपाटी, नख्खु, प्युटार, चौघरे, जाउलाखेल, गोटीखेल, कुपन्डोल, ग्वार्को र ठेचोमा संक्रमण पुष्टि भएको छ । भक्तपुरका सल्लाघारी, दुवाकोट, बागेश्वरी, दूधपाटी, बालकोट, गठ्ठाघर, बोडे र भोलाछेंमा संक्रमित भेटिएका छन् । एउटै ठाउँमा एकभन्दा बढी संक्रमित पनि छन् ।

ईडीसीडीले तीनकुने, कपन, भोलाछें, खुसिबु, कागेश्वरी, नख्खु, मैतीदेवी, बोडे, कोटेश्वर, प्युटार, टोखा र शंखमूलमा ट्राभल हिस्ट्री नभएका संक्रमित भेटिएको भन्दै नमुना परीक्षणलाई व्यापक बनाएको छ ।

‘सबैको चासो उपत्यकामा कुन ठाउँमा देखियो भन्ने छ, पछिल्लो समय संक्रमण देखिएको टोल–टोलमा नमुना संकलन गरेर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ,’ डा. वासुदेव पाण्डेले भने ।

ईडीसीडीले ललितपुर महानगरको २५ वडामा १११, कोटेश्वरमा ११३, टोखामा ८० जना, बोडेमा ३३ जना, सहिद गंगालालमा ५० जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरेको थियो । पाण्डेका अनुसार सबैको नतिजा नेगेटिभ आएको छ । ‘यो तथ्य हेर्ने हो भने कोरोना संक्रमण समुदायमा प्रवेश गरेको देखिँदैन,’ उनले भने ।

ईडीसीडीले शंखमूलका १४७, कपनका १४०, मैतीदेवीका २ सय, विमानस्थलका १६९ कर्मचारीको स्वाब संकलन गरेको छ । यसको रिपोर्ट भने आउन बाँकी छ ।

Related Articles

Back to top button