vada
News

कोरोना न्युट्रन बम हो ?

यो सवाल निस्कनु स्वाभाविक हो। किनभने कोरोना भाइरसले त्यही काम गर्दै छ, जुन न्युट्रन बमले गर्छ भन्ने थियो। याने दुवैले मान्छे मात्र मार्छ तर अरू भौतिक संरचनाको नाश गर्दैन। न्युट्रन बम वास्तवमा संसारमा कहिल्यै पनि प्रयोग भएन। तर सन् १९७५ तिर जब यसको विश्वमा धेरै चर्चा चल्यो त्यसबखत यही दाबा गरियो कि यो बमले मानिसको श्वासप्रश्वासमा वाधा हालेर उसलाई मार्छ तर अरू बमहरूले जस्तो पड्किएर घर, सहरहरू नाश गर्दैन।

यसै तर्कलाई अगाडि सारेर अमेरिकाको राष्ट्रपति रेगनले यो बम बनाउने प्रस्ताव गरेका थिए। कालान्तरमा सो बम बनाइयो, तर प्रयोग भएन। के कोरोना भाइरसको यससित केही सम्बन्ध छ ? किनभने न्युट्रन बमले गर्ने काम कोरोना भाइरसले गर्दै छ। कोरोना भाइरसले सारा संसारलाई सताइरहेको बखतमा एउटा विवाद निस्किरहेको छ- आखिर यो कहाँबाट निस्केको हो ?

हुन त यो अकाट्य तथ्य होइन तर केही वैज्ञानिकले यो भाइरस अमेरिकाले निकालेको हो भनेर दाबा गर्दै छन्। चीनको आर्थिक र सामरिक शक्ति बढ्दै गएको देखेर उसलाई थला पार्न अमेरिकाले यो भाइरस निकालेको र चीनको वुहान प्रान्तमा छाडिदिएको भनेर दोषारोपण सुनिएको छ। त्यसका साथै अमेरिकाको हार्बार्ड विश्वविद्यालय र वुहान विश्वविद्यालयका अनुसन्धानकर्ता यस क्षेत्रमा मिलेर काम गरिरहेको भन्ने पनि उजागर भएको छ। यसैबीच हार्बार्डका यसैसम्बन्धी एकजना अनुसन्धानकर्तालाई अनुसन्धानका केही तथ्य बेचेको भनेर अमेरिकी सरकारले थुनामा राखेको छ। यी जानकारीबाट कतै अमेरिकामाथि गरिएको दोषारोपण सत्य त होइन भन्ने शंका उत्पन्न भएको छ।

विश्वका महाशक्ति राष्ट्रहरूबीच एकअर्कालाई पछाडि पार्ने प्रतिस्पर्धामा एकअर्काको हानिनोक्सानी पार्ने कदम उठाउनु नौलो होइन। न्युट्रन बम त्यस बेला जन्मेको हो, जुन बेला अमेरिका र सोभियत रूसबीचमा तनाव थियो। दोस्रो विश्वयुद्धपछि उनीहरूले एकअर्कालाई सामरिक दृष्टिबाट पछाडि पार्ने प्रयत्न गरिरहेका थिए। हिरोसिमा र नागासाकीजस्ता जापानी सहरमा अमेरिकाले अणु बम खसालेर पूरै नाश गरिदिएका थिए। त्यस्तो प्रकारको नोक्सानी गर्न नपरोस् भन्नाका लागि त्यसभन्दा धेरै सानो बम बनाउने उद्देश्यबाट प्रेरित भएर न्युट्रन बमको धारणा निस्केको थियो। यो खासगरी युरोपको सुरक्षा गर्र्ने लक्ष्यबाट प्रेरित थियो। तर यो युरोपमा कहिल्यै पनि राखिएन। यसको उपयोगिता हुने अवस्था नै आएन।

जुन बेला यो बमको विवाद निस्क्यो त्यसबेला यसबारेमा केही तथ्य र केही अफवाह पनि निस्क्यो। आजको परिपे्रक्षमा कोरोनाको जस्तो यो बम कस्तो हो, कति क्षति गर्ने हो, कस्तो परिस्थितिमा प्रयोग हुने हो आदि प्रश्नको सही उत्तर आएन। पहिलो दावा थियो- यसले भौतिक रचना बिगार्दैन। सो दावा नै शंकास्पद निस्क्यो। अमेरिकी सैनिक विशेषज्ञहरूले नै भने यसले थोरै भए पनि नबिगारी छाड्दैन। किनभने न्युट्रन बम एक प्रकारले सानो खालको हाइड्रोजन बम हो। यो पनि आणविक प्रक्रियाबाटै पड्किने हो। यसले रेडियो विकरण छाड्ने हो र मान्छे मार्ने हो। यो पनि पड्किने हो। पड्किँदा यस बमबाट निस्कने आगोको मुस्लो २० प्रतिशतमा झर्छ। तर त्यति शक्तिले पनि भौतिक नाश गर्छ।

एउटा वैज्ञानिक विश्लेषणले भनेको छ कि एक किलो टनको न्युट्रन बम जमिनभन्दा ६५० फिट माथि पड्काइयो भने यसले २५ एकडमा फैलिएका सबै जीवजन्तु नाश गर्ने छ। यो करिब एक माइलको एकचौथाइ मात्र हो। सय एकड जमिनमा फैलिएका सबै जैविक किरा र रूखपात मर्नेछन्। त्यसैगरी २५० एकडमा फैलिएका किरा-फट्यांग्राहरू र पाँच सय एकडसम्म अवस्थित सबै रूख पनि नाश हुनेछन्। १२ सय एकड जमिनमा विद्यमान पशुपक्षी पनि कालान्तरमा मर्ने छन्।

त्योभन्दा कम उचाइमा बम पड्काइयो भने विनाशको मात्रा अरू बढ्ने छ। अमेरिकी सैनिक कार्यालयले सय फिटको उचाइमा पड्काउनुपर्ने विचार राखेको छ। तर न्युट्रन बमका प्रतिपादकले तीन हजार फिटभन्दा कम उचाइमा सो पड्काउन नहुने धारणा राखेका छन्। उनीहरूका रायमा यो बमको लक्ष्य आणविक विकरण निकाल्नु हो। यसले मान्छे मार्ने हो। जे भए पनि यो पड्काइएका ठाउँका धेरैजसो भवन भत्किने छन्।

अमेरिकाले न्युट्रन बम बनाउनुको मुख्य कारण सोभियत रूसको आक्रमणबाट युरोपलाई जोगाउनु हो। यसको प्रयोग पनि युरोपमै हुने भनेर चर्चा भएको हो। त्यसकारण बर्लिन, लन्डन, पेरिस, रोम, आम्सरडमजस्ता युरोपेली सहरहरूमा यसको विरोध प्रदर्शन भएका थिए। तर अमेरिकी सैनिक अधिकारीहरूले यसको प्रतिकार गर्दै भनेका थिए कि जसरी युरोपमा राखिएका ठूला आकारका आणविक बमहरू २० वर्षदेखि प्रयोग नभई बसेका छन्, त्यसरी नै न्युट्रन बम पनि त्यसै रहिरहने छन्। तर यसबाट यसबारे सार्वजनिक विवाद सुल्झिएन।

यस विवादबाट अन्ततः सैनिक पक्ष पन्छियो। न्युट्रन बम एक आणविक हतियार हो र आणविक हतियार प्रयोग गर्ने-नगर्ने निर्णय गर्ने काम राजनीतिक हो। दोस्रो महायुद्धमा जापानमा हानिएका आणविक हतियार पनि अमेरिकी राजनीतिक निर्णयबाटै भएको थियो। सेनाको काम त राजनीतिक निर्णयलाई कार्यान्वयन गर्नु मात्र हो। यसको प्रयोग गर्ने निर्णय गर्नुपर्ने समय आयो भने सत्तामा बसेका मानिसको टाउको दुखाइ हुने छ।

न्युट्रन बमको विरोधमा तर्क गरियो कि यो कुनै आक्रामक कार्यका लागि होइन। यो आफ्नो सुरक्षाका लागि मात्र हो। यसले खालि रूसी ट्यांक चलाउनेहरूको मात्र ज्यान लिने तर जर्मन संरचनाको नोक्सान नगर्ने भन्ने हो भने यो बेकार छ। तर यस तर्कका विपक्षमा के भनियो भने आणविक बमको प्रयोग नगर्ने हो भने यसलाई तयार राख्नु नै बुद्धिमानी हुन्छ। चाहिँदो बखतमा प्रयोग गर्न सक्ने शक्ति हुनु नै यसको प्रयोग नगर्नु हो। यो कुरा अरू आणविक हतियारको अस्तित्वबाट पनि साबित भएको छ।

अन्तर्राष्ट्रिय होडबाजीमा कतै न्युट्रन बम जस्तै कोरोनाको उत्पत्ति पनि एक जैविक हतियारका रूपमा भएको त होइन भन्ने शंका-उपशंका उत्पन्न भएको छ। यसको निराकरण हुने-नहुने एउटा प्रश्नवाचक चिह्न बनेको छ।

Related Articles

Back to top button