vada
News

विद्यार्थीहरूका लागि क्यान्टिनसहितको ‘पढ्ने कोठा’ बनाइदिए सम्मान स्वरुप सेयर गरौ

प्रियंका न्यौपानेलाई पढ्न शान्त वातावरण चाहिन्छ। भारतमा ‘सिए’ पढ्दा कोठामा बसेर अध्ययन गर्न उनलाई गाह्रो हुन्थ्यो। ध्यान केन्द्रित नै नहुने। यो समस्याबाट छुटकारा पाउन उनी ‘स्टडी रुम’ जान्थिन्।

‘स्टडी रुम’ अर्थात् पढ्ने कोठा, जहाँ विद्यार्थीलाई लेखपढ गर्न सहज शैक्षिक वातावरण हुन्छ। त्यहाँ उनीजस्ता अरू विद्यार्थी पनि हुन्थे। अरूले पढेको देखेपछि उनलाई पनि जाँगर आउँथ्यो। भोक लागे खानपिनको सुविधा त्यहीँ। उनी ढुक्कले पढ्न पाउँथिन्।

कलेज छुट्टीमा नेपाल आउँदा भने उनलाई समस्या हुन्थ्यो। उनले काठमाडौंमा पनि पढ्ने कोठा खोजिन्, पाइनन्।

त्यही बेला उनलाई लाग्यो- यो सुविधा यहाँ पनि ल्याउनुपर्ने रहेछ।

भारतमा प्रायः सिएका विद्यार्थी स्टडी रुम गएर पढ्छन्। धेरैको त्यहीँ गएर पढ्ने बानी छ,’ २६ वर्षीया प्रियंकाले भनिन्, ‘नेपालमा भने यस्तो सुविधाबारे कमैलाई थाहा रहेछ। केहीले यस्तो ठाउँ खोल्न खोजे पनि प्रभावकारी भएनछ।’

यता काठमाडौंमै सिए सकेर बसेकी रूशा गिरीलाई पनि पढ्ने कोठाको खाँचो महशुस भइरहेको थियो। उनले भारतमा यस्तो सुविधा भएको थाहा पाएकी थिइन्। र, यस्तै सुविधा यहाँका विद्यार्थीलाई चिनाउने इच्छा थियो।

पढ्ने कोठाको खोजीमा रहेका प्रियंका र रूशाको एकदिन चिनजान भयो- सामाजिक सञ्जालमा युवा पुस्ताको नयाँ व्यवसाय आइडिया फुराउने एक समूहमार्फत्।

उनीहरू दुवैको काठमाडौंमा ‘स्टडी रुम’ भित्र्याउने सोच थियो। उस्तै विचारसँगै दोस्ती जम्दै गयो।

यसैबीच सामाजिक सञ्जालमार्फत् यी दुईको भेट केशव घिमिरेसँग भयो। केशव इञ्जिनियरिङ सकेर ‘स्टार्टअप प्रोग्राम’ मा सहभागी थिए। उनी नयाँ सोचलाई व्यवसायमा रूपान्तरण गर्न चाहन्थे। उनले प्रियंका र रूशाको ‘आइडिया’ थाहा पाए। उनलाई आइडिया मन पर्‍यो।

यिनै तीन युवाको नयाँ सोच र जोशको परिणामस्वरुप दुई वर्षअघि चाबहिलमा सञ्चालन भयो, ‘पढ्ने कोठा’।

पढ्ने कोठा विद्यार्थीलाई अध्ययन गर्न राम्रो वातावरण दिने ठाउँ हो। यहाँ जोकोही उपयुक्त सुविधा लिएर शान्त रूपमा पढ्न सक्छन्। झट्ट सुन्दा पुस्तकालयजस्तो लागे पनि यहाँ किताब पाइँदैन। आफ्ना किताब आफैं ल्याउनुपर्छ।

‘कतिपय विद्यार्थीका घरमा पढ्ने वातावरण राम्रो हुँदैन। कोही एक्लै बसेर कोठामा पढ्न नसक्ने हुन्छन्,’ पढ्ने कोठाकी सहसञ्चालक रूशा भन्छिन्, ‘रेस्टुरेन्ट गएर पढ्नलाई धेरै पैसा खर्च र होहल्ला भइहाल्छ। अलि साना उमेरकालाई त यो सुविधा पनि हुँदैन। यिनै कुरा ध्यानमा राखेर हामीले पढ्ने कोठा सञ्चालन गरेका हौं।’

उनका अनुसार पढ्ने कोठामा केवल पढाइको वातावरण हुन्छ। यहाँ अरूलाई देखेर पढ्न आउने पनि हुन्छन्, जसले विद्यार्थीलाई प्रोत्साहन गरिरहेको छ।

यहाँ प्रत्येक विद्यार्थीलाई आफ्नो ‘क्याबिन’ दिइन्छ, साइबर क्याफेमा झैं। साथै लकर, इन्टरनेट, छलफल कोठा र क्यान्टिनको पनि सुविधा भएको सञ्चालकहरूको भनाइ छ।

पढ्ने कोठामा धेरैजसो एमबिबिएस, इञ्जिनियरिङ, सिए र प्लस-टुका विद्यार्थी आउने गरेको सहसञ्चालक केशव बताउँछन्। उनी, प्रियंका र रूशा पनि यहीँ बसेर पढ्ने गरेको उनले जानकारी दिए।

पढ्ने कोठामा ४५ जना बसेर पढ्न मिल्ने क्याबिन छन्। परीक्षा चलिरहेका बेला भने भीडै हुने केशवले बताए। पढ्ने कोठामा बसेर अध्ययन गर्न निश्चित शुल्क तिर्नुपर्छ। कोही विद्यार्थीलाई लामो समय र कसैलाई एक-दुई दिन भए पुग्छ। विद्यार्थीको आवश्यकताअनुसार ‘बुक’ गरेर दैनिक १ सय २५, साप्ताहिक ८ सय र मासिक २ हजार ६ सय रूपैयाँ तिर्नुपर्छ।

सुरूआती समयमा आफूहरूले नयाँ व्यवसाय थालेकाले के हुने हो भन्ने धुकधुकी उनीहरूलाई थियो।

‘नेपालमा यस्तो सुविधा र यसबारे धेरैलाई जानकारी पनि थिएन। नचल्ने हो कि भन्ने डर धेरै थियो,’ उनले भने।

सञ्चालन भएको हप्तादिनमै विद्यार्थी आउन थाले र विस्तारै सबै क्याबिन भरिँदै गए। कोरोना लकडाउनले भने यो जमात कम गरेको छ। लकडाउन खुकुलो भए पनि विद्यार्थीलाई आवतजावतमा समस्या भएर राम्ररी चल्न नपाएको उनको भनाइ छ।

लकडाउनले यहाँ आइरहने कयौं विद्यार्थी घरै बसेर पढ्न बाध्य हुनुहुन्छ। उहाँहरू यहाँ आउन चाहनुहुन्छ,’ केशव भन्छन्, ‘अझ कतिपय विद्यार्थीको पढ्ने बानी नै हराइसक्यो। अब उपयुक्त सावधानी अपनाएर पढ्न दिने वातावरण बनाउँदै छौं।’

लकडाउनअघि पढ्ने कोठा बिहान ५ देखि बेलुका ८ बजेसम्म खोलिन्थ्यो। अहिले सुरक्षा अपनाएर भौतिक दुरी कायम गर्दै निश्चित सिटमा बिहान ८ बजेदेखि बेलुका ८ सम्म खुल्ने उनले बताए।

‘लकडाउनअघि त कोही विद्यार्थी बिहान ३ बजेतिर पनि आउनुहुन्थ्यो,’ केशव भन्छन्, ‘यस्तो बेला एक जनाका लागि भए पनि खोलिदिन्थ्यौं।’

धेरैलाई पढ्ने वातावरण आवश्यक देखेर उनीहरूले उपत्यकामा डेरा लिएर बसेका विद्यार्थीनिम्ति होस्टल खोल्ने पनि सोचेका थिए। लकडाउनका कारण काम रोकिएको छ।

अहिले व्यवसाय घाटामा छ। उनीहरूलाई भाडा तिर्न नसकिने हो कि भन्ने डर त छँदैछ, पढ्ने कोठाकै भरमा त्यहाँ क्यान्टिन चलाएकालाई परेको मारले पनि पिरोलेको छ।

रूशा भन्छिन्, ‘यहाँ एउटा काम रोकियो भने त्यससँग सम्बन्धित अरू सबै काम रोकिन्छ। हाम्रो कमाइ नहुँदा भाडा तिर्न सकिँदैन। उता क्यान्टिनका कर्मचारीको व्यवसाय बन्द छ। एउटाले गर्दा कयौंलाई असर परिरहेको हुन्छ।’

नयाँ उद्यमीका समस्या औंल्याउँदै उनीहरू सरकारसँग कम ब्याजमा ऋण दिन माग गर्छन्। भन्छन्, ‘यो कठिन समयमा हाम्रो आशा सरकारको साथ हो। यस्तो परिस्थितिमा हामीले घाटा गएर व्यवसाय बन्द गर्नु भनेको सरकारलाई नै घाटा हुनुसरह हो।’

उनीहरूका अनुसार नयाँ उद्यमीलाई सरकारबाट अरू सहयोगको पनि खाँचो छ। जस्तै, उनीहरूको कामअनुसारको शीर्षक नभएर कम्पनी दर्तामा पनि समस्या भएको थियो।

‘नेपालको प्रणाली अझै पुरानै छ। पहिलेदेखि स्थापित कामबाहेक नयाँ आइडिया सञ्चालन गर्न गाह्रो छ,’ केशव भन्छन्, ‘पढ्ने कोठा दर्ता गराउन हामीलाई पुस्तकालय शीर्षक राख्ने विकल्प दिइयो। तर हाम्रो काम पुस्तकालयको होइन र त्यसबाट दर्ता गराउँदा धेरै कर तिर्नुपर्थ्यो। अन्य शीर्षकमा राख्न वडाले मान्दैन, त्यसैले घरेलु शीर्षकमा दर्ता गराउन बाध्य भयौं।’

उनले थपे, ‘अब नयाँ पुस्तासँगै थुप्रै नयाँ आइडिया आउँछन्। यस्तो बेला सरकारले सहुलियत नदिए युवापुस्तालाई हौसला मिल्दैन।’

Related Articles

Back to top button