vada
News

आजबाट काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीको संख्या बढ्यो

काठमाडौं – करिब साढे ३ महिनापछि उपत्यकाका सडकमा सार्वजनिक सवारीसाधन चल्न थालेका छन् । अहिले एकपछि अर्को कम्पनीका सवारीसाधन सञ्चालन भइरहेका छन् ।

गत बिहीबार सरकारले छोटो दुरीका लागि सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेसँगै कतिपय व्यवसायीहरुले बस चलाउन थालेका हुन् ।

अहिले उपत्यकाका सडकमा मयुर यातायात, संयुक्त यातायात, जुनेली यातायात, सुन्दर यातायातले केही दिनअघि देखि सेवा दिइरहेको छ ।

त्यस्तै आजबाट बाबा गोकर्णेश्वर यातायात र साझा यातायात कम्पनीले पनि सीमित रुटमा बस चलाउन थालेका छन् ।

सुन्दर यातायातका २ वटा बस सञ्चालन

सुन्दर यातायात सहकारी संस्थाले गत मंगलवारबाट २ वटा रुटमा विद्यतुतीय बस सञ्चालन गरेको छ ।

कम्पनीले भक्तपुरको सुर्यविनायक-कोटेश्वर-बानेश्वर-वीर अस्पताल-जमल र चक्रपथ गरी पुराना दुईरुटमा बस सञ्चालन गरिरहेको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।

कम्पनीले सरकारले लिने भनेको ५० प्रतिशत बढी भाडा पनि नलिएको बताउँदै थापाले भने, ‘अहिले जनतालाई सेवा दिने र बजार चहलपहल बनाउने हो फाइदा हेर्ने होइन ।’

उनकाअनुसार बसमा सरकारको सुरक्षाका मापदण्ड अपनाएर यात्रुलाई दुरी कायम, यात्रुका लागि स्यानीटाइजर र जेष्ठ नागरिकका लागि मास्कको समेत दिइरहेको छ ।

‘त्यस्तै चालक र सहचालकलाई पिपिई सेट, छुट्टै स्यानीटाइजर र मास्कको व्यवस्था गरिएको छ हरेक एक राउन्डमा बस डिस्इन्फेक्सन गराइरहेका छौं’ उनले भने ।

४४ वटै बस सञ्चालन गर्नै तयारीमा मयुर यातायात

सोमवारबाट बस चलाउन थालेको मयुर यातयातले बिहीबारबाट २४ वटा सञ्चालन गर्ने बताएको छ ।

अहिले मयुरका १३ वटा बसले यात्रुलाई सेवा दिइरहेको छ । केही दिनमा ४४ वटै बस सञ्चालन गर्ने तयारी रहेको मयुर यातायात कम्पनीले जनाएको छ ।

मयुर यातायात अहिले काठमाडौं ललितपुर र भक्तपुरका सडकमा गुडिरहेका छन् । यद्यपी कम्पनीले भने काभ्रेको धुलिखेलसम्म बस चलाउन गृहमन्त्रालयलाई अनुरोध गरिरहेको छ ।

‘अहिले भक्तपुरको साँगासम्म बस चलिरहेका छन्’ कम्पनीका अध्यक्ष मोहन श्रेष्ठले खबरहबसँग भने, ‘काभ्रेसम्म बस चलाउन गृह, यातायात मन्त्रालय र विभागसँग छलफल भइरहेको छ ।’

कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले चालक र सहचालकको सुरक्षाका लागि पीपीई सेट उपलब्ध गराइरहेको बताउँदै उनले भने, ‘मास्क, स्यानीटाइजरको व्यवस्था गरिएको छ सरकारको मापदण्डअनुसार मयुरका बस गुडेका छन् ।’

साझाका केही बस आजबाट सञ्चालन

साझा यातयात सहकारी संस्थाले आजबाट उपत्यकामा बस सञ्चालन गरेको छ । सरकारको निर्णयअनुसार साझा यातायातले यात्रुलाई सेवा दिना थालेका संस्थाका कार्यकारी अधिकृत भुषण तुलाधारले जानकारी दिए ।

उनका अनुसार आझाले आजबाट काठमाडौं उपत्यकामा २६ वटा बस मार्फत यात्रुलाई सेवा दिना थालेको छ ।

साझा यातायातका ७१ वटा बस रहेका छन् जसमध्ये ६७ वटा उपत्यकाभित्र र ४ वटा बस लामो दुरीका लागि चल्न गर्छन् ।

गाडी चलाउनेबारे छलफल भइरहेको छ : महासंघ

सवारीसाधनमा चालक, सहचालक र यात्रुको स्वास्थ्यका विषयमा छलफल भइरहेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले जनाएको छ ।

‘गाडी कहाँ कसरी डिस्इन्फेक्सन गर्ने ? र यात्रुको सुरक्षाका विषयमा अहिले छलफल भइरहेको छ’ महासंघका वरिष्ठ उपाध्यक्ष दीपक अधिकारीले भने, ‘यसको निचोड निस्किएपछि सवारीसाधन कसरी चलाउने भन्नेबारे छलफल हुनेछ ।’

त्यसो त सरकारले ५० प्रतिशतसम्म गाडीभाडा बढाउन पाउने अधिकार व्यवसायीहरुलाई दिएको छ । तर भाडाभन्दा पनि यात्रुको स्वास्थ्यसँग जोडिएको विषय भएकाले महासंघ छलफलमै रहेको वरिष्ठ उपाध्यक्ष अधिकारीले बताए ।

Related Articles

Back to top button