vada
News

साउने संक्रान्तिमा लुतो फालेको सम्झना

आज साउने संक्रान्ति । आजबाट दिनहरु छोटा हुन्छन् भन्ने विश्वास छ । बाढी पहिरोबाट बाचिँयो भन्ने आत्मविश्वासका साथ मनाइने साउने संक्रान्तिपछि चाडबाडहरु सुरु हुन्छन् । नाग पंचमी, जनै पूर्णिमा, श्रीकृष्ण जन्माष्टमी, तीज, दशैं तिहारजस्ता महत्वपूर्ण चाड पर्वहरु भित्रिन्छन्।

हामी सानै हुँदादेखि साउने संक्रान्तिलाई तिउरे लाउने र लुतो फाल्ने पर्वका रुपमा मान्थ्यौं । यो चलन सबै हामीलाई हजुरआमाले सिकाउनुहुन्थ्यो किन कि संक्रान्ति मान्न हामी नाति नातिनाहरु मामाघर पुग्थ्यौं ।

हामी साउने संक्रान्तिको दिन बिहानै उठेर घरघरमा तिउरे खोज्दैं हिँड्थ्यौं र धेरै जम्मा पार्थ्यौं । रातपाते, मकरकाची, परेवाको विष्टी सबै जम्मा पार्थ्यौं । अनि हजुरआमाले बिहानको खानामा मिठो अनदिको लट्टे, गाभाको तरकारी, करेलाको अचार बनाउनुहुन्थ्यो । हामी मिठो मानेर खान्थ्यौं ।

साउने संक्रान्तिपछि मैजारो गर्ने चलन गाउँघरमा अझै छ । लगभग रोपाइँ सकिएपछि गोरुलाई नुहाइदिएर हलीलाई मीठो मसिनो खुवाउने चलन छ। त्यसपछिका तीन दिनसम्म गोरुलाई आराम दिएर कामकाजमा नलगाउने प्रचलन पनि छ ।

हामी बिहानको खाना खाइसकेपछि हजुरआमाका मीठा बातहरु सुन्दै बार्दलीमा बस्थ्यौं । नाति नातिनाहरुसँग रमाइलो गर्न पाउँदा हजुरआमा पनि मख्ख पर्नुहुन्थ्यो ।

हामी खित्का छाडेर हाँस्दा हजुरआमा हाम्रो हाँसोलाई दुई हलको हाँसो भनेर मापन गर्नुहुन्थ्यो । दुई हल गोरु लाग्ने बारीसम्म सुनिने हाँसो भएको हुनाले यसरी मापन गर्ने गाउँले चलन चल्ति रहेछ ।

हजुरआमा विगतका दिनहरुमा हाम्री आमालाई पढाउन, हुर्काउन मेलापात गर्ने गरेका दुःखका कथाहरु पनि सुनाउँनुहुन्थ्यो । घाँसका भारी बोकेरै बर्खामा बढेका खोलाहरु तरेर जिविकोपार्जन गर्नु परेका त्यतिबेलाका घटनाहरु सुनाउँनुहुन्थ्यो ।

दिउँसो दुधिला मकै पोलेर खादैं हामी हजुरआमाकै वरिपरि झुम्मिन्थ्यौं । साँझ पर्न आटेपछि वरपरका हामी सबै केटाकेटीहरु लुतो फाल्नका लागि तम्तयार बस्थ्यौं ।

पूजाआजा धूपन कार्य गरेपछि हामीलाई पनि उसै गर्न भनेर हजुरआमा भन्नुहुन्थ्यो । लुतो, पिलो, खटिरा, पटिरा सबै हटिजा भन्दै हामी केटाकेटीहरु अगुल्टो फाल्थ्यौं ।

हामी बच्चै थियौं, त्यसैले कसले टाढा पुर्याउने भन्दै होडबाजी गर्थ्यौं । पहिले पहिले घरघरमा चर्पी थिएन अनि खेतबारी नै अस्थायी चर्पी जस्तै हुन्थे ।

अनि तिनै खेतबारीमा असार भरि धान रोपाइँ गरेर आएपछि आउन सक्ने छाला जन्य रोगहरु लुतो र खटिराबाट बच्न र आइसकेको भए पनि यसलाई फाल्नका निम्ति साउने संक्रान्तिका दिन लुतो फाल्ने चलन रहेको कुरा हजुरआमा स्पष्ट पार्नुहुन्थ्यो ।

लुतो फालेपछि खाना खाएर अब हामी तिउरे लगाउन हतार गर्थ्यौं।बिहान बटुलेका तिउरे, रातपाते र मकरकाची ढुंगामा थिच्थ्यौं । अनि त्यसमा अमिलो र परेवाको विष्टा पनि मोल्थ्यौं ।

अनि हजुरआमाले कर्कलाको पात काटेर ल्याउनुहुन्थ्यो । अँगेनामा तोरीको तेललाई मनतातो बनाएर तताउनु हुन्थ्यो । अनि हामी हजुरआमाका अघि हाम्रा हातहरु पसार्थ्यौं ।

पालै पालो हजुरआमा हाम्रा हातमा तेल लगाइदिँदै सबै चिज हालेर ठिक्क पारेको तिउरे (एक प्रकारको फूल, जसको रंग मेहन्दीजस्तै हुन्थ्यो) लगाइदिनुहुन्थ्यो । अनि कर्कलाको पातले ढाकेर सुतरीले विस्तारै बाँधिदिनुहुन्थ्यो । हामी हात जोगाएर आ-आफ्ना ओछ्यानमा जान्थ्यौं ।

राति हात चलाउन नपाउँदा र शरीर चिलाउन नपाउँदा औधि अप्ठ्यारो हुन्थ्यो।तैपनि रातो तिउरे लगाएको हात सबैलाई देखाउने चाहले सबै अप्ठ्याराहरु भुलेर निदाउने कोसिस गर्थ्यौं र भुसुक्कै निदाउथ्यौं ।

बिहान सबेरै उठेर हात पखालेर एक अर्कालाई देखाउन होजबाजी गर्थ्यौं।हजुरआमा पिँढीमा बसेर मुसुमुसु हाँस्नुहुन्थ्यो । अरुका औंलाको तुलनामा बुढी औंलामा बढी तिउरे गाढा भएको देख्दा हजुरआमा लौजा अब सर्पले छेपारोको टाउको सम्झेर तिम्रो औंला निल्छ भन्दै ठट्टा गर्दिनुहुन्थ्यो । हामी छक्क पर्थ्यौं ।

उतिबेला हजुरआमा हुनुहुन्थ्यो अनि घरघरमा तिउरे पनि थिए । तर, आजकाल बजारमा तिउरेको सट्टा मेहन्दीका अनेक स्वरुपहरु आइसकेका छन् ।

उतिबेला खेतबारीमा काम गर्दा हिलोले हातगोडा खाने समस्याबाट बच्न तिउरे लगाउने चलन बहुउपयोगी थियो । तर, आजकल पनि तिउरे नपाउँदा मिसावटरहित मेहन्दीको प्रयोग स्वास्थ्यका लागि लाभदायक नै मानिन्छ ।

साउन महिना नारीहरुका लागि विशेष मानिन्छ।यस महिनामा नारीहरु व्रत बस्ने, हरियो, पहेँलो र रातो पहिरनमा सजिने गर्दछन् र श्रृंगारमा पनि रङको विशेष संयोजन गर्छन् । जसका लागिसमेत तिउरेको उल्लेख्य महत्व हुने गर्थ्यो । धर्म, संस्कृति र सौन्दर्यसँग पनि जोडिएर आउने तिउरे लगाउने परम्पराले साउन महिनालाई तिउरे नै लगाउने महिनाका रुपमा चिनाएको थियो ।

आजभोलि यो फेसन वा देखावटीका रुपमा मेहन्दी लगाउने चलन विकास भए पनि परापूर्वकालदेखि नै आयुर्वेदमा महत्वपूर्ण औषधिका रुपमा शुद्ध मेहन्दी बनाउने मेहन्दी वृक्ष अर्थात हिन्नालाई हेर्ने गरिएको छ । तर, अचेल बजारमा शुद्ध मेहन्दी भन्दा पनि अशुद्ध र केमिकल मिसाइएको मेहन्दीको बढ्ता प्रयोगले त्वचागत रोगहरु उत्पन्न हुने खतरा पनि सँगसँगै बढेको पाइन्छ ।

हाम्री हजुरआमाले त्यो परिवेशमा कसरी जान्नुभयो होला, साउने संक्रान्तिको महत्व ? अहिले सोचप् ल्याउँदा म धन्य हुन्छु ।

खेतापाती नै प्रधानवृत्ति बनाएकी सोझी हजुरआमा किंवदन्तीहरुमा साह्रै चाख राख्नुहुन्थ्यो । छर-छिमेकका अनेकौं टीका टिप्पणीमा प्रसंगअनुसार भानभक्तका रामायणका आदर्श फलाक्ने हजुरआमाले हामीलाई हाम्रा चाडबाड र रीतिरिवाजहरुमा अभ्यस्त र निपुण बनाउँदै लैजानुभएको थियो।जस्का लागि हामी हृदयदेखि नै आभारी थियौं र छौं ।

Related Articles

Back to top button