vada
News

धोबीखोला किनारमा ७ करोड बढी लगानीमा अत्याधुनिक दुई पार्क बन्दै

काठमाडौं महानगरपालिकाले खालि सार्वजनिक जग्गामा २ वटा पार्क बनाउने भएको छ।

महानगरपालिकाले हाँडीगाउँस्थित धोबीखोला किनारमा भत्केको पुलदेखि कालो पुलसम्मको बीचमा रहेको करिब ३६ रोपनी सार्वजनिक जग्गामध्ये १४ रोपनी भन्दा धेरैमा नरबुद्ध पार्क र महानगर पार्क बनाउन लागेको हो।

जग्गामध्ये ६ रोपनी ११ आना क्षेत्रमा नरबुद्ध पार्कको लागत ३ करोड ३७ लाख ३८ हजार र महानगर पार्कको लागत ४ करोड अनुमान गरिएको छ।

नरबुद्ध पार्कका निर्माणका लागि काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि १ करोड ५० लाख विनियोजन गरेको छ। उक्त पार्क प्रस्ताव आव्हानको चरणमा पुगेको वडा नम्बर ५ का अध्यक्ष रमेश डंगोलले जानकारी दिए।

विहार र बुद्धको मुर्तिसहितको यो पार्कमा पोखरी, फाउण्टेन र विश्रामस्थल समेत रहने छ। उक्त पार्क अपाङ्गमैत्री र जेष्ठ नागरिकमैत्री रहेको वडाध्यक्ष डंगोलले जानकारी दिए।

हरियालीलाई विशेष प्राथमिकता दिएको सो पार्कमा वर्षातको पानी संकलन गरी पुर्नप्रयोग गर्न सकिने र वाटर रिचार्जको पनि व्यवस्था गरिने उनले जानकारी दिए।

‘नयाँ डिजाइनमा विहारको मोहोडा परिवर्तन गरी प्राचिन शैलीमा निर्माण गरिने छ,’ डंगोलले भने, ‘राजधानीको कोलाहलबीचमा पनि हामीले सकेसम्म शान्ति दिन सकियोस् भनेर यो पार्ककलाई नमूना बनाउने तयारी गरेका छौँ।’

महानगर पार्कको भने प्रारम्भिक डिजाइन तयार भएको डंगोलले जानकारी दिए।
काठमाडौँ महानगरपालिकाले थालनी गरेका कुनै पनि योजना बजेट अभावले नरोकिने काठमाडौं महानगरका मेयर विद्या शुन्दर शाक्यले दाबी गरे।

‘हामीले नरबुद्ध पार्कका बारेमा धेरै चरणका छलफल सम्पन्न गरिसकेका छौँ । महानगरपार्कका बारेमा पनि स्थानीयसँग प्रारम्भिक चरणको छलफल भएको छ। स्थानियको सुझावलाई समेटेर निर्माण प्रक्रियामा अघि बढाउँदा पार्कमा सबैको अपनत्व हुन्छ,’ उनले भने।

आर्थिक वर्ष २०७७/०७८ मा मात्रै सार्वजनिक जग्गा र खुल्ला क्षेत्रको संरक्षण गर्दै हरियाली प्रवर्धन गर्न ३० वटा भन्दा बढी पार्क निर्माण गर्ने लक्ष्य लिएको शाक्यले जानकारी दिए।

प्रमुख शाक्यले कतिपय योजनाहरु विवादका कारण अघि बढ्न नसकेको गुनासो गर्दै बजेट अभावका कारण योजना अलपत्र पर्न नदिने प्रतिवद्धता व्यक्त गरे।

‘हामी निर्वाचित भएर आएदेखि पैसाअनुसारको योजना होइन, योजना अनुसार पैसा विनियोजन गर्नुपर्छ भन्ने मान्यताअनुसार अघि बढेका छौँ। कुनै पनि योजना अधुरो नछोड्ने, कुनै पनि काम अपूरो नछोड्ने हाम्रो नीति नै छ,’ शाक्यले भने।

Related Articles

Back to top button