vada
News

भोली नाग पञ्चमी, यसरी पुजा गर्नुहोस शुभ फल प्राप्त हुन्छ

हरेक वर्ष श्रावण शुक्ल पञ्चमी तिथिलाई नाग पञ्चमी पर्वका रुपमा नागकाे पुजा गर्ने शास्त्रीय नियम रहिआएको छ । यसवर्ष श्रावण १० गते शनिबार नाग पञ्चमी पर्व परेकाे छ । शास्त्रीय विधिअनुसार पुजागरिएकाे नागकाे प्रतीक घरकाे मुख्य द्वारमा टासेमा बर्षभरि नै नाग अर्थात् सर्पाकाे भय नहुने शास्त्रमा उल्लेख गरिएको छ ।

भगवान् शिवकाे प्रिय महिनाका रुपमा श्रावण महिनालाई लिने गरिन्छ । शिवजीकाे गलामा गहनाका रुपमा निवास गर्ने नाग देवताकाे पुजा तथा आरधना गरेमा समस्त बन्धनबाट मुक्ति मिल्ने पनि शास्त्रमा उल्लेख गरिएको छ ।
शास्त्रमा उल्लेख भएअनुसार त्रेतायुगमा लंकाका राजा रावणका छाेरा मेघनाथले राम तथा लक्ष्मणलाई नाग पासमा बाधेकाे कुरा रामायणमा उल्लेख गरिएको छ ।

नागपास सबैभन्दा शक्तिशाली पाश हाे । मानिस जन्मिएको समयमा पनि नगकाे दाेष हुने गर्दछ । यस्ताे दाेषमा जन्मिएको समयमा जीवनमा हरेक समस्या देखा परिरहन्छ गर्न लागेका कुनै पनि कार्य सिद्धि हुदैन पारिवारिक समस्या पनि भैरहन्छ । यस्ताे अवस्थामा बिधिपूर्वक नागकाे पुजा गरेमा हरेक प्रकारका समस्याबाट छुट्कारा पाउनका लागि विशेषगरी अष्टनागकाे पुजाकाे विधान शास्त्रमा उल्लेख गरिएको छ । अनन्त,वासुकी,पद्म,महापद्म, तक्षक,कुलिक,कर्कट,शंखचूड गरि अष्टनागकाे विशेष गरि पुजाकाे विधान उल्लेख गरिएको छ ।श्रावण महिनामा नागकाे उत्तर दिशामा शिर हुने गर्दछ ।

शास्त्रमा सर्पलाई कालकाे रुपमा पनि व्याख्या गरिएको छ । समस्त चराचर जगत्काे मृत्युु कालकाे अधिनमा छ । कालले कसैलाई पर्खिदैन र भेदभाव पनि गर्दैन । शास्त्रमा नबग्रह मध्ये राहु तथा केतु ग्रहलाई पनि गणना गरिएको छ र राहु तथा केतुलाई छाया ग्रहका रुपमा व्याख्या गरेको छ । राहु नाभि भन्दा माथिकाे शिर हाे भने केतु नाभि भन्दा तल पुच्छर हाे । राहुकाे नक्षत्र भरणी तथा केतुकाे नक्षत्र अश्लेषा हाे । शास्त्रका अनुसार भरणी नक्षत्रका देवता यमराज अर्थात काल र अश्लेषा नक्षत्रका देवता नाग अर्थात् सर्प हुन ।

यसकारणले नक्षत्रका अधिपति देवताका रुपमा राहुलाई काल तथा केतुलाई सर्पका रुपमा उल्लेख गरिएको छ । सपनामा सर्प देखिरहने तथा अन्य समस्या भएका हरुले नागपञ्चमीका दिन विधिवत् नागकाे पूजा गरी धातुबाट नागकाे प्रतिमा बनाएर नदीमा सेलाउने या शिवकाे मन्दिरमा लगेर चढाएमा हरेक प्रकारका समस्या बाट मुक्त हुने पनि उल्लेख गरिएको छ । नागकाे पुजा गर्दा राताे वस्तुहरु चढाउनु हुदैन र बत्ती पनि नजिकै लगेर बाल्नु हुदैन ।

Related Articles

Back to top button