vada
News

कम्पनीले तलब नदिएपछि कुवेतमा ३३ नेपाली भोकभोकै

१० साउन, दोहा ।काठमाडौँको सामाखुसीमा रहेको एसआरके नेपाल मेनपावर मार्फत बिगत १८ महिना अघि कुवेत पुगेका ३३ जना नेपाली कामदार अलपत्र परेका छन् ।कोरोनाको कारण कम्पनीले लिएको साइट बन्द भएपछि कुवेतको जिलिपमा बिगत पाँच महिनादेखि आफूहरु अलपत्र परेको पिडितहरु मध्ये रोल्पाका प्रकाश मगरले बताए ।

पीडितहरुका अनुसार कुवेतको अल रकीब बिल्डिंग कंस्ट्रक्शन कम्पनी कार्यरत नेपाली कामदार लामो समयदेखि भोकभोकै बस्न बाध्य भएका छन् ।म्यानपावर कम्पनीले उनीहरुबाट प्रतिव्यक्ति १ लाख ६० हजार रुपैयाँ लिएको थियो । तर, कुवेतमा पाँच महिनासम्म पनि काम, दाम र माम नपाएको उनीहरुको गुनासो छ ।

पीडित नेपालीहरुका अनुसार कोरोना संक्रमण बढेपछि कुवेत सरकारले गरेको लकडाउनको बेला पनि कम्पनीले काम लगाएर पैसा दिएकाे छैन । कम्पनी प्रशासनले आज दिन्छु भोली दिन्छु दुई महिनाको एकै पटक दिन्छु भनेर झुक्याउने गरेको गुल्मीका बिनोद महतले बताए ।सप्लाईको काम बन्द भएपछि उनीहरुलाई कम्पनीले वेवास्ता गरेको कारण आफूहरु अलपत्र परेको पीडितहरुले बताएका छन् । उक्त कम्पनीमा कार्यरत कामदारहरुले नेपालबाट आउँदा तोकिएको तलब लगायत सेवा सुविधा समेत नपाएको बताएका छन् ।

म्यानपावर कम्पनीले उद्धार गर्न कुनै पहल र सहयोग नगरेको कारण आफूहरुको अवस्था दयनीय बनेको पीडितहरुले बताएका छन् । हाल उनीहरुले प्रयोग गर्दै आएको पानी र बिजुलीको लाइन समेत काटिएकोले समस्या थपिएको बताएका छन् । कम्पनीले तलब नदिएपछि दुई महिनादेखि आफूहरु एसी बिनाको कोठामा नै बस्‍न बाध्य भएको कामदारको गुनासो छ ।

उनीहरुले आफूहरुको समस्या नेपाल सरकार, कुवेतस्थित नेपाली दूतावास लगायत सम्बन्धित निकायसम्म पुर्याइदिन विभिन्न संचार माध्यमलाई अनुरोध गरेका छन् ।यता, पिडित नेपालीहरु जानकारी गराएपछि कुवेतस्थित नेपाली दूतावास उनीहरु बसकेको क्याम्पमा पुगी आवश्यक जानकारी लिएको जनाएको छ । दूतावासका अनुसार उनीहरुलाई चाँडै खाना तथा उद्दारको पहल गरिने जनाइएको छ ।

Related Articles

Back to top button