vada
News

२४ घण्टामा नेपालमा कोरोनाका कारण थप तीन जनाको मृत्यु

काठमाडौँ – कोरोनाभाइरस सङ्क्रमणको सङ्ख्या केही दिनयता थपिन थालेसँगै यसको जोखिम पनि बढेको छ । खासगरी भारतसँग सीमा जोडिएका विराटनगर, वीरगन्ज, नेपालगन्जलगायतका मुख्य शहरी क्षेत्रमा यसको सङ्क्रमण बढ्न थालेसँगै जनजीवनलाई भयभित तुल्याउन थालेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये दुई नेपाली र एक भारतीय नागरिक रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । धनुषाको शहीदनगर नगरपालिका–८ निवासी ३६ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट आइतबार मृत्यु भएको हो । ती पुरुषमा ज्वरो, खोकी तथा श्वासप्रश्वासमा समस्या देखिएको थियो । उनलाई प्रादेशिक अस्पताल जनकपुरमा उपचार हुन नसकेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यस्तै बाराको फेटा गाउँपालिका–३ का ६० वर्षीय पुरुषको पनि कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । निमोनिया, मस्तिष्कघात तथा मिर्गौलासम्बन्धी रोगबाट पीडित उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी पर्साको वीरगञ्जमा बासोबास गर्दै आएका ६५ वर्षीय भारतीय नागरिकको पनि कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनको उपचारका क्रममा वीरगञ्जस्थित गण्डक अस्थायी अस्पतालमा निधन भएको हो । उनी मुटु तथा मधुमेहका बिरामी थिए । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । मन्त्रालयले उनीहरुको मृत्युप्रति समवेदना प्रकट गरेको छ ।रासस

Related Articles

Back to top button