vada
News

कोरोनाले भयावहरुप लिँदै, फेरी गयो २ जनाको ज्यान

काठमाडौं–कोरोना भाइरसको गम्भीर असर देखिएको वीरगन्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। शनिबार मृत्यु हुनेमा एक जना ५० र ६८ वर्षीया महिला रहेका छन् ।

नारायणी कोरोना अस्थायी अस्पतालका चिकित्सक निरज सिंहका अनुसार दुवै महिला वीरगन्ज १६ निवासी हुन्। ५० वर्षीया महिलाको भने शुक्रबारै वीरगन्जस्थित बयोधा अस्पतालमा बिहान १० बजे निधन भएको थियो। पछि पिसिआर नतिजा आउँदा उनमा संक्रमण पोजेटिभ देखिएको हो।

अर्की ६८ वर्षीया महिलालाई पनि त्यही अस्पतालले शनिबार बिहान गण्डक अस्पताल रिफर गरेको थियो। डा।।सिंहले दुवै महिलामा निमोनियाको समस्या रहेको जनाए।योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ।

पर्सामा थप ४५ जनामा कोरोना संक्रमण, भोलिदेखि जिल्लाभर निषेधाज्ञा

वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीको परिवारका २ जनासहित पर्सामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ ।

संक्रमितहरूमा १४ जना महिला र ३१ जना पुरूष छन् । संक्रमित सबै पर्साका हुन् । वीरगञ्जका ४३ जना, सखुवा प्रसौनी गाउँपालिका र निर्मलबस्तीका एक–एक जनामा संक्रमण पुष्टि भएको छ ।

भोलिदेखि निषेधाज्ञा

संक्रमित र मृतकको संख्या बढ्दै गएपछि पर्सामा भोलि सोमबारदेखि लागू हुने गरी जिल्लाभरी नै निषेधाज्ञा जारी गरिएको छ ।साउन १० गतेदेखि वीरगञ्ज महानगर क्षेत्रभित्र मात्रै जारी गरिएको निषेधाज्ञा विस्तार गरिएको हो । शनिबार प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाभर नै अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जारी गरेको सूचनामा निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको छ।

कोभिड-१९ को संक्रमण रोकथाम एवं नियन्त्रण गर्न तथा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न धेरै संक्रमण भएका तथा अति जोखिममा रहेका स्थानहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अतिरिक्त स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा २ अनुसार नेपाली सेनासमेत परिचालन गर्ने प्रशासनले जनाएको छ ।

Related Articles

Back to top button