vada
News

वीरगन्जमा एउटै वडाका ४६ सहित थपिए ७४ कोरोना संक्रमित

वीरगन्जमा थप ७४ जना व्यक्तिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

जसमा वीरगन्ज महानगरपालिका-११ श्रीपुरका मात्र ४६ जना संक्रमित रहेको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकका संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिए।

संक्रमितहरूमध्ये एकजना पत्रकार पनि छन्। अर्को एकजना बाराका छन् भने बाँकी सबै वीरगन्ज निवासी हुन्।

संक्रमितहरूमा अधिकांश २० देखि ४० उमेर समुहका छन्। केही संक्रमित भने ६० वर्ष माथिका पनि रहेको डा. सिंहले जनाए।

थपिएका संक्रमितहरूमध्ये लक्षण देखिएकालाई अस्पताल भर्ना गर्ने तयारी गरिएको छ। लक्षणविहीन अवस्थाका संक्रमितलाई भने होम आइसोलेसनमै राखिने छ।

पछिल्लो समय वीरगन्जमा दैनिक संक्रमण दर बढ्दो क्रममा रहेको छ। साउन महिना यता मात्र वीरगन्जमा कोरोनाका कारण ११ जनाको मृत्यु भइसकेको छ।

वीरगन्जमा संक्रमण समुदायमै फैलिएको बताइएको छ।

पर्सा कारागारका तीन प्रहरीसहित १२ जनामा कोरोना संक्रमण

पर्सा कारागारमा १२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ।

वीरगञ्जस्थित नारायणी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा कारागारका १२ जनामा संक्रमण देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तीमध्ये तीन जना प्रहरी रहेको डिएसपी मनोजित कुँवरले जानकारी दिए।

‘तीन जना प्रहरीसहित कारागारका १२ जनामा संक्रमण देखिएको छ,’डिएसपी कुँवरले भने,’अहिले कन्ट्याक्ट ट्रेसिङ गरिरहेका छौं।’

कारागार भित्रमात्रै कन्ट्याक्ट ट्रेसिङ गरी एक सय १८ जनालाई क्वारेन्टिनमा राखिएको डिएसपी कुँवरले जानकारी दिए।

त्यस्तै, पर्सा जिल्लाकै विभिन्न स्थानमा खटिएका अन्य चार जना प्रहरीमा पनि संक्रमण देखिएको छ।

अस्पताल, विपद क्षेत्र, नाका, कारागारमा रहेका सबै गरी ७ जना प्रहरीमा संक्रमण देखिएको उनले जानकारी दिए।

‘एक जनालाई अस्पतालमा पठाइएको छ भने अन्य आइसोलेसन सेन्टरमै छन्,’ उनले भने।

Related Articles

Back to top button